आर्थिक अभाव देखाउदै जोडिएनन् डायोलाईसिस मेसिन

दाङ, १५ फागुन ।
सरकारले गएको साउनमा दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा ८ वटा डायोलाईसिस मेसिन पठाएको थियो । तर, ति मेसिनहरू अहिले एउटा कोठामा थन्काए राखिएको छ । मेसिनहरू आएको ७ महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका कारण जडान हुन सकेका छैनन् । मेसिन जडानकालागि पाईपलगायतका आवश्यक सामग्री खरिदकालागि २५/३० लाख खर्च लाग्छ । त्यस्तै अहिले ४ जना नर्सिङ कर्मचारी मात्रै कार्यरत छन् ।

तर, मेसिन जडान पछि कम्तिमा १० जना नर्सिङ कर्मचारी चाहिन्छ । अर्को तर्फ मेसिन जडान गर्नकालागि ठाउँको पनि अभाव रहेको छ । अस्पतालमा ‘पेडियाट्रिक’भवन निर्माण भएपनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या हुने गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । “मेसिन जडानकालागि हामीले पाइपलगायतका सामग्रीहरू खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भएपनि हामीलाई हस्तान्तरण भएको छैन,जनशक्ति पनि अभाव छ”,उनले भने “त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।”

तत्कालिन दाङ क्षेत्र नं.३ बाट निर्वाचित हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री हुँदा प्रादेशिक अस्पताललाई ८ वटा डायोलाईसिस मेसिन उपलब्ध गराईएको थियो । ति मध्ये ३ वटा मेसिन बाँके स्थित भेरी अस्पतालमा लगिएको छ । तर, ति मेसिन फिर्ता गर्ने सर्तमा लगिएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालले बताए । अहिले अस्पतालमा पाँचवटा डायोलाईसिस मेसिन मध्ये ४ वटा मेसिन मात्रै सञ्चालनमा छन् ।


एउटा मेसिन बिग्रिएको लामो समय भएपनि मर्मत हुन सकेको छैन् । अन्य पाँच वटा मेसिन पनि जडान हुन नसक्दा धेरै मृर्गौला रोगीहरूले सास्ती भोग्नु परेको छ । अहिले ८४ बिरामीहरूले पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौं,लमही, घोराही, बुटवल लगायतका स्थानमा डायोलाइसिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायोलाईसिस गरिरहेका छन् ।

आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायोलाईसिस प्रमुख लिना बडेलले बताईन् ।“अहिले हामीसंग ५ वटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ”,उनले भनिन् “अब थप आएका ८ वटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।”

कर्मचारीको पनि त्यतिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले बताए । उनका अनुसार अहिले ४ जना स्टाफनर्स मात्रै कार्यरत छन् । नयाँ मेसिन जडान भएपछि १० जना नर्सिङ स्टाफ चाहिन्छ । त्यस्तै आवश्यक उपकरणकालागि २५÷३० लाख लगानी लाग्छ । साभारः अगिम्र साप्ताहिक