प्रेस सेन्टर दाङले स्थापना दिवसको अवसरमा १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने

घोराही, १५ माघ ।
प्रेस सेन्टर नेपाल, दाङले आफ्नो स्थापना दिवसको अवसरमा दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने भएको छ ।
दाङका १० ओटै पालिकाले माघ १५ गते (आज) दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउने भएका हुन् । घोराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गर्ने जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुकी पाँच बजे घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालमा रहेको महान सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गर्नुका साथै सोही स्थानमा दीप प्रज्वलन गरिने छ ।


यसैबीच जिल्ला अध्यक्ष पाण्डव शर्मा र घोराही शाखा अध्यक्ष सन्तोष डाँगीले विज्ञप्ति निकालेर दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

२०६१ साल मा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भएको थियो । सोही संगठन अहिले प्रेस सेन्टर नेपाल नामाकरण भएको छ ।