हरीपौरी–नैनीताल यात्राः जाग्यो विकासको हुटहुटी

दीपक बोहरा
दाङ, १२ माघ । यात्रा, मनोरञ्जन र सिकाई नै भ्रमण हो । एउटा विकटको मान्छे सुगम ठाउँको भ्रमण गरेमा त्यसले आफ्नो गाउँलाई सुगम बनाउने प्रयत्न गर्छ । सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिकिन्छ भन्ने धारणा अनुकुल गरिने एउटा भ्रमण सुरु भयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को आयोजनामा हरीपौरीदेखि भारतको नैनीतालसम्मको यात्रा भयो । वडाका जनप्रतिनिधि, कर्मचारीसहितको भ्रमणः जो वडा कार्यालयकालागि सिकाईको एउटा माध्याम थियो । नमूना विकासका मोडलहरु अवलोकन गरेर, आफ्नो ठाउँमा सिको गर्ने र, त्यस्तो खालको विकासको मोडलमा सुझाब दिने भ्रमणको उद्देश्य थियो ।
माघ ६ गते शुक्रबार राति तुलसीपुर १२ को वडा कार्यालयबाट हिडेको भ्रमण टोली शनिबार साँझ महाकाली नदी स्थित दोधारा–चाँदनी पुलको अवलोकन ग¥यो ।

जुन पुल नेपालकै सबै भन्दा लामो झोलुंगे पुल थियो । १ किलोमिटर ४५२ मिटर लामो उक्त पुल अवलोकन पछि कञ्चनपुरको गड्डा चौकी नाका हुँदै भारतको उत्तराखण्ड स्थित नैनीताल पुग्ने तयारी थियो । विहान साढे ८ बजेको थियो । तर, निश्चित समयमा नाका खुल्ने र बन्द हुने भएकाले भ्रमण टोली त्यहाँ पुग्दा नाका बन्द थियो ।‘भारु.२ सय दिएपछि नाका खुल्छ, नत्र १० बजेसम्म पर्खिनु पर्छ’, त्यहाँ हामीलाई भारत लैजाने सवारी चालकले भने ।

तर, त्यो रकम कानुन सम्वत नभएर त्यहाँ ड्युटीमा खटिएका सुरक्षाकर्मीले पैसा लिने अनि गेट खोल्दिने गर्दा रहेछन् । नाकामा अबैद्य रुपमा पैसा लिएर गेट खोल्ने, पैसा नदिए १० बजे मात्रै खुल्ने भएपछि हामी १० बजे नै नाका खुलेपछि मात्रै डिह्ने निधो ग¥यौं । त्यसपछि हाम्रो पर्खाई त्यही नाकामा बन्यो ।

नेपाली गाडीलाई भारतमा जानकालागि सहज छैन । त्यसैले हामीले भारतीय गाडी भाडामा लियौं । एउटा भारतीय नम्बर प्लेटको गाडी भाडामा लिएको नैनीतालसम्मको भारु ६ हजार तिर्नुपर्दो रहेछ । त्यो रकम हामीले तिरेर नैनीताल जाने निधो भयो । भारतीय नम्बर प्लेट भएपनि ति गाडीहरु प्रायः नेपाली मुलकै नागरिकले किनेर ब्यबसायीक रुपमा चलाउने गरेका रहेछन् । गड्डा चौकी नाकामा आबश्यकता अनुसार गाडीहरु भाडामा राख्ने गरेको र भारत जान चहानेहरुलाई ति गाडीहरु दिने गरिन्छ ।

नेपाली गाडीमा पास बनाउन झनझट हुने भएकाले पनि ति गाडीहरु प्रयोग गरेर नेपालीहरु भारतका बिभिन्न स्थानमा जाने गर्छन् । नेपाली गाडीहरु भारत लैजान गाह्रो हुने गरेको भएपनि भारतीय गाडीहरु भने निर्वाध रुपमा नेपालमा चल्न पाउछन् ।‘नेपाली गाडीहरु भारतमा चल्न पाउँदैनन्, चेकजाँच पनि निकै कडा हुन्छ ’,भ्रमणमा सहभागि वडा सदस्य शेषमणी भण्डारीले भने‘तर, भारतीय गाडीहरु सहजै नेपाल छिर्न पाउछन्, यो निकै विडम्वनाको कुरा हो ।’

त्यही नाकामै करिब डेढ घण्टा विताउनु प¥यो । त्यो क्रममा भारतले नेपाली भूमि प्रयोग गरेर महाकाली नदीमा बनाएको शारदा बाँधको अवलोकन भयो । जहाँ नेपाल तर्फ आउने नहरमा थोरै पानी छाडिएको छ, भने भारत तर्फ नदी पुरै लगिएको छ ।‘आबश्यक पर्दा सबै पानी भारत लैजाने गरिन्छ’, वडा सदस्य कमला घर्तीले दुखेसो पोखिन्‘तर, बर्षामा सबै पानी नेपाल तिरै छोडेर नेपाल डुबाउने गर्छ ।’

नजिकै टनकपुर बाँध पनि छ । त्यो बाँधबाट भारतले विद्युत निकालेको छ । त्यसको अवलोकन पछि १० बजे नाका खुल्यो । त्यसपछि हाम्रो यात्रा नैनीताल तर्फ मोडियो । बीचमा गाडीबाट देखिएका मनमोहक दृष्यहरु पनि सिकाईका विषयहरु बने । टनकपुर बाँधबाट करिब २० किलोमिटर अगाडी जाँदा औद्योगिक क्षेत्र भेटिन्छ । जहाँ विघौं जग्गामा विभिन्न उद्योगहरु छन् । उद्योग वरपर बस्ति छैन । एकै ठाउँमा सबै उद्योग छन् । उद्योग क्षेत्र सकिएपछि कृषि क्षेत्र भेटिन्छ । जहाँ कुनै पनि जग्गा बाँझो हुँदैन । सबै जग्गामा कृषि गहुँ रोपिएको छ ।‘हाम्रा तिरका खेति योग्य जग्गामा प्लटिङ हुन्छन्, खेति योग्य जग्गामा घर बनेका छन्’, वडा सदस्य धनराज गौतमले भने‘तर, यहाँ खेति योग्य जग्गामा घरहरु सीमित छन्, औद्योगिक क्षेत्रमा उद्योगहरु छन्, विकासको मोडल यस्तो हुनुपर्छ ।’

बजार पनि शान्त र सफा छ । कहि कतै फोहर देखिदैन् । सवारी चालकहरु पनि यत्तिकै अनुशासित हुन्छन् । आफ्नो‘लेन’ भन्दा बाहिर जाँदैनन् । सवारी आफ्नो गतिमा हुन्छ, सवारी चाप पनि त्यतिकै हुन्छ, तर, दुर्घटनाको जोखिम कम हुन्छ ।

May be an image of 1 person and lake


गड्डा चौकीदेखि हामी करिब ४ घण्टा पछि नैनीताल पुग्यो । हामी केही समय नैनी तालमै वितायौं । जुन भु–भाग कुनै समय नेपालको थियो । सन १८१४ देखि सन १८१६ सम्म चलेको नेपाल–अग्रेज युद्ध भन्दा पहिले त्यो भू–भाग नेपालको थियो । तर, सुगौली सन्धी पश्चात उक्त भु–भाग बेलायतले कब्जा गरेको थियो । बेलायति उपनिबेशमा रहेको उक्त जमिन भारत स्वतन्त्र भएपछि १९४७ मा भारतले नै उपनिवेश गरेको थियो ।

तत्कालिन अबस्थामा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भाग नेपालका भूमि थिए । नैनीताल भएको स्थान भारतको शिक्षा क्षेत्रका रुपमा पनि रहेको छ । त्यहाँ विदेशका बिभिन्न स्थानबाट पनि पढ्नकालागि आउने गर्छन् । भारतीय चलचित्र क्षेत्रका बहुप्रशिद्ध अभिनेता शाहरुख खानले पनि नैनी तालमै पढेका थिए ।

नैनीतालको अवलोकन पछि भ्रमण टोली सोही दिन साँझ कञ्चनपुर फर्कियो । त्यहाँ बासबसेपछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका बिभिन्न स्थानको अवलोकन पनि भए । यी जिल्लाहरु पनि कुनै समय भारतकै कब्जामा थिए । सन् १८१६ मा यी भूभागलाई नेपाललाई फर्काएको थियो । सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू सन १८६५ मा नेपाललाई फकाईएको थियो । जसलाई नेपालमा नयाँ मुलुकका रुपमा पनि लिइन्छ ।


यी क्षेत्रमा पनि अवलोकन भयो । जहाँ व्यावस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय र विज्ञान संकायको अध्यापन हुन्छ । कैलाली बहुमुखी क्याम्पस सुदूर पश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ । सोही क्याम्पसले ‘मास कम्युनिकेशन’ पढ्ने विद्यार्थीहरुको प्रयोगात्मककालागि आफ्नै एफएम रेडियो पनि सञ्चालनमा छ ।‘यो क्याम्पसमा म धेरै पहिला विद्यार्थीको केन्द्रीय राजनीति गर्दा आएको थिए, यहाँका संरचना, विद्यार्थीको अबस्था, शैक्षिक गुण्स्तर एकदमै राम्रो थियो’भ्रमणमा पुगेका तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले भने‘यस्ता उदाहरणीय क्याम्पस हेर्दा हाम्रो वडामा रहेको राप्ती बबई क्याम्पसलाई पनि त्यस्तै बनाउन सकिन्छ, यसमा हाम्रो सकारात्मक सहयोग रहन यसको सिकाईले प्रभाब पार्छ ।’
त्यो क्याम्पसको अवलोकन पछि कैलाली स्थित गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टसंग त्यहाँ भएका नयाँ कामको बारेमा जानकारी लिइयो । त्यस क्रममा भट्टले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध मजवुत भएमा हरेक विकासले तिब्रता लिने बताए ।
त्यसपछि भ्रमण टोली कैलालीकै घोडाघोडी तालमा पुगियो । जुन ताल विश्व रामसार सूचिमा परेको छ । विश्वमै लोपन्मुख रैथाने माछाका प्रजाति,पुलती,चराचुरुङ्गीलगायतलाई यही तालले संरक्षण गरेपछि यसलाई रामसार सूचिमा सूचिकृत गरिएको हो ।
किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको विचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।
यो ताल पछि भ्रमण टोली कैलाली स्थित टिकापुर पार्कमा पुग्यो । टीकापुर पार्क राजा महेन्द्रका पालामा स्थापना भएको हो । जहाँ राजा महेन्द्र आएर बस्ने गर्थे । राजा विरेन्द्र रानी ऐश्वर्यसहित राज परिवारका निकटहरूसंग यो पार्कमा आउने गर्थे । एतिहासिक टिकापुर पार्कको अवलोकन पछि भ्रमण टालीले सोही स्थानमा बनेका केराका परौठा, जुसलगायत खायो । टिकापुरमा केरा खेति राम्रो हुने गर्छ ।

विघौ विघा जग्गामा केरा खेति हुने गर्छ । जहाँ हरेक परिकार केराकै पाईन्छ । केराको मःम, केराकै अचार, केराकै वाइन, केराकै रक्सीसहित हरेक परिकार केराको पाईने गर्छ ।‘यसले जहाँ जे उत्पादन हुन्छ, त्यसका हरेक परिकार बनाएर बेच्न सकिन्छ भन्ने सिकायो’, वडा सचिब गणेश आचार्यले भने‘यसले हरेक बस्तु बजारीकरणमा समस्या हुँदैन ।’ टिकापुर पार्क हाम्रो अन्तिम भ्रमण बन्यो । त्यहाँको अवलोकन पछि हामी सिधै तुलसीपुर फर्कियौं ।