तुलसी ट्रेड टावर‘डिजाईन’ परिवर्तन

तुलसीपुर,५ माघ ।
दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावरको डिजाईन परिवर्तन भएको छ । उपमहानगरपालिकाले बनाउन लागेको ब्यापारिक भवन तथा ट्रेड टावरको टावरको फाउन्डेशनको डिजाईन परिवर्तन गरिएको हो ।

उपमहानगरपालिका कार्यालयको उत्तर तर्फ निर्माण हुन लागेको टावरको स्वीकृत डिजाईन अनुसार गर्दा ढुंगा निस्केर समस्या भएको तथा ‘डीसीएम’ विधिबाट माटो निकाल्दा वरपरका घरमा क्षति हुने एवं ‘पाइल राईज मेसिन’ प्रबिधिबाट गर्दा निर्माण स्थल साँघुरो हुने भएकाले फाउन्डेशनको डिजाईन परिबर्तन गरिएको हो ।

ऋण लगानी कर्ता नगर विकास कोष, तुलसीपुर उपमहानगरपालिका र डिजाईनिङ कन्सलटेन्टबीच जुम बैठकले डिजाईन परिवर्तन गर्ने भनि सहमति गरेपछि उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय पारीत गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताउनुभयो । “पहिलेको डिजाईन उत्तरतिरको बाटो मिचेर बनाएको रहेछ”,उहाँले भन्नुभयो“त्यो बाटो नमिचेर संरचना बनाउनकालागि उक्त डिजाईन परिवर्तन गरिएको हो ।”


‘पाईल फाउन्डेशन आवश्यक नपर्ने र ‘म्याट फो फाउन्डेशन’ र ‘स्यान्ड ग्राभेल मिक्स्ड सोलिङ्’ को ठाउँमा ६०० एमएमको ‘टिक स्टोन’ गर्ने भनि डिजाइन परिबर्तन गरिएको हो ।

साढे १४ करोड लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो । त्यसकालागि काम भइरहेको छ । लिफ्ट सहित ७ तलाको टावर निर्माणकालागि अहिले जग निर्माण गर्ने कार्य भइरहेको छ । साढे १७ मिटर लम्बाई र ३४ मिटर चौडाई रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । २३ करोडमा टेन्डर आव्हान गरिएपनि समानान्तर, डायनामिक र नारायणम जेभिले साढे १४ करोडमा ठेक्का लिएको इन्जिनियर योगीले बताउनुभयो ।

कुल लागत मध्य ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुने छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैकिङ् कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् ।