नव निर्वाचित सभामुख र उपसभामुखको शपथ आज

देउखुरी, ४ माघ ।
लुम्बिनी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित हुनुभएको हो । मंगलबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक/एकजनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । बैठकमा सभामुख पदका प्रस्तावक एमाले नेता तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले प्रस्ताव गर्नुभएको थियो भने सो प्रस्तावको समर्थन राप्रपा संसदीय दलका नेता आशीषकुमार चौधरीले गर्नुभएको थियो । सभामुख पदमा एकल मनोनयन दर्ता भएपछि ज्येष्ठ सदस्यले तुलाराम घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

यस्तै उपसभामुख पदमा राप्रपाकी मेनुका खाँण केसीको प्रस्तावक माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बैठकमा प्रस्ताव पेश गर्नुभयो भने जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले समर्थन गर्नुभएको थियो । त्यसपछि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले उपसभामुखमा एकल उम्मेदवारी कायम रहेको भन्दै निर्वाचित भएको घोषणा गर्नुभयो । नेपालको संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उपसभामुख चयनको व्यवस्था गरिएको छ । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् भन्ने संविधानमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका १–१ सदस्य, र २ स्वतन्त्र सांसद छन् ।

प्रदेशसभाको दोस्रो कार्यकाल
प्रदेशसभाको दोस्रो कार्यकालका लागि लुम्बिनी प्रदेशसभाले मंगलबार सभामुख र उपसभामुख पाएको छ । पाँच वर्षे कार्यकालका लागि चयन भएका सभामुख र उपसभामुखलाई प्रदेशबाट नीति निर्माणको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी थपिएको छ । पाँच वर्षे कार्यकालमा प्रदेश सभाबाट ७२ वटा विधेक पारित भए । प्रदेशसभाले विभिन्न नीति नियम तथा कानुनहरु निर्माण ग¥यो । शून्यबाट शुरु भएको प्रदेशसभाले संविधानअनुसार काम गर्दै दोस्रो कार्यकालको लागि थप जिम्मेवारी हस्तान्तरण गरेको छ ।

नवनियुक्त सभामुख तुलाराम घर्तीले प्रदेशसभालाई असल जनप्रतिनिधिको सभाको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यो संसदलाई वास्तविक संसदको रुपमा, असल जनप्रतिनिधिको सभाको रुपमा अघि बढाउनेछु’– उहाँले भन्नुभयो– ‘चुनौती र अवसर दुबै छन् । ठूलो जिम्मेवारीको रुपमा लिएको छु । विधिसम्मत रुपमा, कानुनसम्मत रुपमा काम गर्नेछु ।’ प्रदेशसभाले जनतासँग जोडिएका विषयमा नीति निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको छ । पहिलो कार्यकालमा अघि बढ्न नसकेको नीति निर्माणलाई दोस्रो कार्यकालको लागि बनेको प्रदेशसभाले पूर्णता दिने प्रदेशसभा सदस्यहरुले विश्वास लिएका छन् ।

सभामुख र उपसभामुख चयनपश्चात प्रदेशसभाका अधिवेशन र बैठकहरु नियमितरुपमा बस्नेछन् । ती बैठकमा जनता लक्षित नीति निर्माण गर्नेतर्फ भूमिका खेल्ने प्रदेशसभा सदस्य राजु खनालले बताउनुभयो । ‘हामी सबैको साझा संसद हो, सभामुख र उपसभामुख कुनै दलको हुँदैनन् । उहाँहरुप्रति हाम्रो पनि विश्वास छ’– उहॉँले भन्नुभयो– ‘साझारुपमा भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हाम्रो हो ।’ नवनियुक्त उपसभामुख मेनुका खाँड केसीले सदनको कामलाई चुस्त दुरुस्तरुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


शपथ आज
लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउनेछन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । सभामुखको शपथग्रहण पश्चात उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण हुने छ । प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया मार्फत निर्विरोध चयन गरिएको हो । प्रदेश सभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । साथै उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख चयन नहुँदा सम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।

मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ ।

माघ ५ गते प्रदेशसभाको चौथो बैठक बस्नेछ । सो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अर्को बैठक माघ ५ गते बस्ने मंगलबार बसेको प्रदेशसभा बैठक अन्त्य गर्दै जानकारी दिनुभयो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत छ ।

विश्वासको मत लिएपछिमात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ । अहिले दुई बिनाविभागीय मन्त्री छन् । यस्तै प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा पनि छलफल भइरहेको छ । पहिलो मन्त्रिपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउँदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो । तर थप दुईवटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।