नेपालीहरुको महानपर्व तिहार सुरू भइसक्यो । अहिले बजारमा पटका सुनिन थालेका छन् । प्रायः तिहामा बिकृति, बिसंगतिथ पनि बढ्ने गरेका छन् । चाडपर्वको मुखमा जुवातासबाट मानिसहरु पक्राउ परिरहेका खबरहरु आउने गर्छन् । बजारमा तिहार लक्षित किनमेल बढेको छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलन मात्र नभई सामाजिक रूपमा सद्भाव अभिवृद्धिको चार्ड हो । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चार्डले विशेष भूमिका निभाएको हुन्छ ।
नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै सांस्कृतिक चमक चहकिलो हुँदैगएको छ । दसैंजस्तै तिहार पनि कुनै पन्थ वा सम्प्रदाय विशेषमा सीमित छैन । केही वर्ष यता त छठ पर्व पहाडमा पनि मनाउन थालिएको छ । संस्कृति र अमूर्त सम्पदामा गौरव गर्न भने नेपालीले जानेका छैनन् । देखासिकी र खोक्रो ढोँग सजिलै र छिटै नक्कल गर्ने नेपाली सांस्कृतिक सामाजिक विशेषताप्रति प्रायः उदासीन देखिन्छन् । बहुसंख्यक नेपालीलाई दैनिक गुजारा नै सधैँ समस्या भइरहेकाले पनि यस्तो भएको हुनसक्छ । जीविका चलाउनेबाहेक अन्त ध्यानै दिन नपाएपछि सांस्कृतिक महत्व र त्यसमा गौरव गर्ने विषय पाखण्ड लाग्नु अस्वाभाविक होइन ।
नेपाली जनमानसलाई ‘समृद्धि’को सपनाले पनि उत्तिकै लोभ्याएको छ । राजनीति गर्नेहरूले समृद्धि शब्दको बढी नै प्रयोग गरेकाले जनमानस अलमलिएको हुनसक्छ । नेपाल आर्थिकरूपमा नभए पनि अरू दृष्टिबाट संसारको धेरै मुलुकभन्दा समृद्ध छ । तर, नेपाल विपन्न भएको राग बेच्ने गरिएको छ । समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । साभारःअग्रिम साप्ताहिक
लाइभदाङ । ७ कार्तिक २०७९, सोमबार ०८:२४ बजे