तुलसीपुर १२ः जेष्ठ नागरिकलाई न्यानो कपडादेखि चेवनप्राससम्म

दाङ, २७ पुस । तुलसीपुर १२ ले जेष्ठ नागरिकलाई बिभिन्न सामग्री प्रदान गरिएको छ । बुधबार एक कार्यक्रम गरि वडाले वडाका ८६ बर्ष माथिका १५ जना जेष्ठ नागरिकलाई बलाङ्केट, ८० बर्ष माथिका ५५ जनालाई चेवनप्रास र ६६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

उपमहानगरपालिकाको सहयोगमा बलाङकेट वितरण गरिएको हो, भने चेवनप्रास र स्वास्थ्य जाँच वडाकै आयोजनामा गरिएको हो । जेष्ठ नागरिक नै समाजको इतिहासकार रहेको भन्दै उनीहरुको स्वास्थ्यमा ख्याल गर्न यस्तो कार्यक्रम गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

वडाध्यक्ष चौधरीले जेष्ठ नागरिकको हरेक समस्या समाधान गर्न वडा दत्तचित्त रहेको समेत बताए । आगामी वर्षमा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई वितरण गर्ने योजना रहेको उनले बताए । साथै घर–घरमा गएर स्वास्थ्य जाँच गर्ने कार्यक्रम पनि ल्याउने उनले बताए ।


त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले जेष्ठ नागरिक राष्ट्रको अभिभावक भएकोले सम्मान गर्नुपर्ने बताईन् ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, ज्येष्ठ नागरिक सञ्जाल लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, वडा स्वस्थ्यका इन्चार्ज मोहन शर्मा, जेष्ठ नागरिक वडा अध्यक्ष भरतमणी शर्मा, वडा सदस्यहरु धनराज गौतम, कमला घर्ती, विमला परियारलगायतको सहभागिता रहेको थियो । वडा सदस्य शेषमणी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश आचार्यले गरेका थिए ।