थारुले बनाएको जाँडलाई बैधानिकता दिनुपर्छ : मन्त्री चौधरी

तुलसीपुर,२४ पुस । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले थारु समुदायले बनाएको जाँडलाई बैधानिकता दिनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताए ।

“विदेशबाट ट्रकका ट्रक रक्सी आयत हुन्छ”,उनले भने “यसरी विदेशबाट ल्याउनु भन्दा थारु समुदायले बनाएको अर्गानिक जाँडलाई बैधानिकता दिने गरि नीति बनाउनु पर्छ ।”

नीति बनेमा नेपालमा मात्रै नभई विदेशमा समेत जाँड निर्यात गर्न सकिने उनले बताए । थारु समुदायको अहिले जाँड बनाउने ठाउँलाई उद्योगका रुपमा विकास गरेर धेरै जाँड उत्पादन गर्न सकियो भने त्यसले मुलुकलाई समृद्ध बनाउने समेत बताए ।


थारु संस्कार र संस्कृतिलाई सम्मान गर्न माघी संस्कृतिक कार्यक्रम आयोजा गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “थारु समुदाय संस्कार र संस्कृतिका हिसाबले अगाडी छन्”,उनले भने“यसलाई संरक्षण गर्नकालागि युवा पुस्तालाई जोड्न यो कार्यक्रम आयोजना गरिएको हो ।” त्यस अवसरमा थारु समुदाय तथा अन्य समुदायका बिभिन्न नाचहरु प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए । वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । स्वागत सोमीलाल चौधरीले गरेका थिए भने सहजीकरण श्री चौधरीले गरेका थिए ।