मुुक्तकम्लरीहरुले गरे दाङमा‘तिल्की’ धान खेति

तुलसीपुर, ६ साउन ।
दाङमा मुक्तकम्लरीहरुले सामूहिक तिल्की धान खेति सुरु गरेका छन् । लोपन्मुख रहेको रैथाने तिल्की धानलाई जोगाउनकालागि यो खेति गरिएको हो । विगत देखि नै सहकारी मार्फत सामूहिक खेति गर्ने गरेका मुक्तकम्लरीहरुले तिल्की धान खेति गरेका हुन् । मुक्त कम्लरीहरुको गन्यारी कृषि सहकारी संस्थाबाट यस बर्ष एक विघा १५ कठ्ठामा धान खेति भएको अध्यक्ष लक्ष्मी चौधरीले बताईन् ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ विजौरीमा उक्त धान खेति गरिएको हो । केन्द्रका अध्यक्ष रावतका अनुसार अर्गानिक खेति हराउँदै गएको भन्दै यसलाई संरक्षण गर्न यो कार्य गरिएको बताए ।

तिल्की, सिम्ठारोजस्ता धान मानव स्वास्थ्यकालागि एकदमै राम्रो रहेकाले यसलाई जोगाउनु पर्ने उनको भनाई छ । तिल्की धानको चामल मिठो पनि हुने र गर्मी पनि खप्न सक्ने धान हो । यो जातको धान विगतमा दाङमा धेरैले लगाउने गर्थे । जुन धान दाङको पहिचान पनि थियो । तर, पछिल्लो समय हाईव्रिड धान नै कृषकको रोजाई बनेपछि यो धान लोप हुने अबस्थामा थियो ।


त्यस्तै रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको अध्यक्ष रावतले बताए । सबै खालका खेतिमा अर्गानिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए ।

घोराहीको बेलुवामा पनि १३ कठ्ठामा त्यहाँका मुक्त कम्लरीहरुले सामूहिक धान खेति गर्ने भएका छन् । यस बर्ष देखि सोही ठाउँमा पनि स्थानीय जातको धान उत्पादनमा लागेको अध्यक्ष रावतले बताए । साभारः अग्रिम साप्ताहिक