बबई गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन माघ ५ गते हुने

देव राज कँडेल
दाङ, २० पुस ।

बबई गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन आगमी माघ ५ गते हुने भएको छ । बबई गाउँपालिकाको १८ औं गाउँपालिका बैठकले माघ ५ गते विहिवार विहान ११ बजे आह्वान गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले १० प्रस्ताव माथि छलफल गरी निर्णय गरेको छ ।

बैठकले आ.व. २०८०/०८१ का लागि संघिय समपूरक अन्तर्गत ८ वटा र प्रदेश समपूरकका लागि ९ वटा ठूला योजना माग गर्ने निर्णय गरेको बबई गाउँपालिका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयो । संघ र प्रदेशमा विशेष अनुदान माग समेत गरेको छ । बैठकले नदिजन्य पदार्थ व्यवस्थापन अनुगमण समितिमा पुरन्धारा सव डिभिजन कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालय चौकी खिलतपुर प्रमुख, इलाका प्रहरी कार्यालय चौकी हापुरे प्रमुख, इलाका प्रहरी कार्यालय चौकी हंशपुर प्रमुखलाई थप गरेको छ ।


यसैगरी बबई गाउँपालिका कार्यालयबाट नदीजन्य पदार्थ विक्री क्षेत्र झारगजेरी घाट क्षेत्र, च्याटीखोला दोभान क्षेत्र, सुतुवा खोला क्षेत्र, ट्वाङखोला दोभान क्षेत्र, जलुके घाट क्षेत्र, बञ्चरे घाटमा बोलपत्र आह्वान गर्ने निर्णय भएको छ । बबई खेलकुद परिषद संचालन पहिलो संशोधन कार्यविधि, २०७९ दफा ३ बमोजिम खेलकुदका विभिन्न क्षेत्रबाट विभिन्न व्यक्तिहरु समितिमा रहनेगरी बबई युवा तथा खेलकुद परिषद गठन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।