आजाद खड्का
१.संस्कृति
मानविय श्रम नै संस्कृतिको जननी हो । मानिसले आफ्नो दिमाग र शरिरका अंग (हात) प्रयोग गरेर जति पनि नयाँ चिज निर्माण गर्छ । त्यो नै मानिसको संस्कृति हो । मानिसले उत्पादन गर्ने भनेको दुईवटा चिज छ । एउटा दिमागले निर्माण गर्ने सामाग्री र अर्काे हातद्वारा निर्माण गर्ने सामाग्री हो । बुद्विले मानिसले उत्पादन गर्ने सामाग्री–कविता, साहित्य, दर्शन, राजनीति, विज्ञान, संगित आदि हुन् । बुद्विले अपनाइने वा गरिने आईडिया वा सीप आदि मानिसले बुद्वि प्रयोग गरेर निर्माण गर्छ वा बुद्वि प्रयोग गरेर बनाउछ ।
अर्काे मानिसले हात प्रयोग गरेर बनाउछ । त्यो दुवै चिज–बुद्वि र हात प्रयोग गरेर मानिसले जे जति सामाग्री निर्माण गरेका सबै चिजलाई एक ठाउँमा राख्दा संस्कृत बन्छ । निश्चित चाडपर्व वा गाउने बजाउने वा गाजा बाजा वा तिर्थ पर्व प्रयोग गर्नु वा संस्कार प्रयोग गर्नु पनि मानविय संस्कृतिका अंग त हुन । तर मानिसले बनाएका सबै चिज मिलेपछि संस्कृति बन्छ । बौद्विक र भौतिक श्रमको योगफल नै मानिसको संस्कृति हो । मानिसको संस्कृति उत्पादन प्रणाली अनुसार निर्माण हुन्छ । उत्पादन सम्बन्ध राज्यसत्ताको आधार (जग) हो भने संस्कृति राज्यसत्ताको उपरिसंरचना हो । किनकी आधार अनुकुल उपरिसंरचना सञ्चालन हुने अकाट्य प्रक्रिया हो ।
अझ अघि बढेर संस्कृतिलाई मानिसले निर्माण गरेको प्रकृति पनि भन्न सकिन्छ । हामीले निर्माण गरेका सबै सामाग्री वा वस्तु संस्कृति हो । प्राकृतिक रूपमा बगि रहेको नदिलाई प्राकृतिक भनिन्छ । त्यहि नदिको पानीलाई बोतलमा भर्नुलाई संस्कृति भनिन्छ । त्यसकारण बोतलमा भरेर हिड्नु संस्कृति हो । यसरी सबै भन्दा पहिले हामी संस्कृतिका आधारभूत कुरामा हामी स्पष्ट हुन जरूरी छ । सारतः मानिसको श्रमद्वारा निर्माण गरिएको सामाग्री नै संस्कृति हो । यसलाई सहज अध्ययन वा छलफलका लागि संस्कृतिलाई दुई भागमा विभाजन गरिन्छ । जसलाई बौद्विक र भौतिक संस्कृति भनिन्छ । मानिसको श्रम नै संस्कृतिको जननी हो । मानिसले यदि श्रम गर्दैन भने संस्कृतिको जन्म हुन असंभव छ । प्रकृतिलाई बदल्ने वा परिमार्जन गर्ने कामलाई श्रम र श्रमलाई संस्कृत भनिन्छ ।
(क) संस्कृति मानिसको मात्र हुन्छ
संस्कृति मानिसको मात्र हुन्छ । अरू प्राणीको चाहिँ संस्कृति हुदैन । किनकी अरू प्राणीले मुलतः श्रम गर्दैनन् । त्यसैले उनीहरूको संस्कृति पनि हुदैन । जनावर, पशुपंक्षि वा रूख बिरुवाले श्रम नगर्ने भएकाले संस्कृति पनि हुदैन । अरूद्वारा निर्मित वा प्राकृतिक उपलब्ध वस्तुको प्रयोग गर्ने मात्र गर्दछन् । तर, उनीहरूद्वारा पुर्ननिर्माण गर्दैनन् । निर्माण गरेको त देखिन्छ । जस्तो कि पशुहरूले–बाघले मृग खान्छ तर, त्यसको खेती गर्दैन । बाख्राले घाँस खान्छ तर घाँसको खेति गर्दैन ।
तोप चरा÷चराले गुड लगाउछ । चिमपांजी वा गुरिल्लाले वरनवटन वा वन मान्छेहरूले केही चिजहरू नयाँ निर्माण गर्न खोजे जस्तो गर्छन् । जस्तो कि सिन्का भाँचेर धमिराको प्वालमा छिराएर धमिराहरू सिन्कामा ल्याएर खाने गर्छन् । तर, उनीहरूले जमानादेखि अहिलेसम्म त्यतिमात्र गर्दछन् । त्यो कामलाई प्रत्येक पुस्ताले परिमार्जन गर्दैनन् । उनीहरूको चेतना त्यहि भित्र मात्र रूमली रहन्छ । यसको अर्थ उनीहरू श्रम गर्दैनन् । उनीहरू जिवीको पार्जन गर्छन् तर, उपार्जन गर्दैनन् । प्रकृतिमा जे उपलब्ध छ ।
त्यसलाई भोगेर जिविका गर्छन् । उनीहरूले खासमा जिवीको उपार्जन गर्दैनन् । संस्कृतिको एउटा गुण लगातार परिमार्जित हुँदै जान्छ । आदिमा मानवले जे गथ्र्याे दास मानवले त्यो गरेन । नयाँ–नयाँ पुस्ताले त्यसलाई परिमार्जित गरेको हुन्छ । यो गुण पशुपंक्षि, जनावर वा रूख बिरुवामा पाईदैन । त्यसकारण उनीहरूको जिवीको पार्जन मात्र हुने भएकाले संस्कृति हुदैन । मानिसले आफ्नो श्रम, बुद्धि वा सीप मार्फत संस्कृतिको विकास, परिवर्तन वा परिमार्जन गर्दछ ।
(ख) भौतिक संस्कृति
मानिसले सिर्जना वा निर्माण गरेको घर, खाट, टेवुल वा कम्युटर वा कापी–कलम आदि सामाग्रीहरू मानिसले आफ्नो उपभोगको निम्ति निर्माण गर्छ, त्यो हाम्रो भौतिक संस्कृति हो । भौतिक रूपमा हातले वा मानिसले शरीर प्रयोग गरेर निर्माण गरिएका जे जति सामाग्री निर्माण गरिएका छन् ती सबै भौतिक संस्कृति भित्र पर्दछन् ।
(ग) बौद्विक संस्कृति
दिमागी श्रम प्रयोग गरेर जे सिर्जना वा उत्पादन गरिन्छ । त्यो मानिसको बौद्विक संस्कृति हो । संस्कृतिलाई एकांगि ढंगले विशिष्ट चाड पर्वलाई मात्र संस्कृति देख्नु गलत वा अप्रयाप्त हुन्छ । यसको बुझाई नै ठिक बनाई सके पछि हाम्रो संस्कृतिलाई सहि अर्थमा ठम्याउन सकिन्छ । उदाहरणको लागि–दर्शन, विचार, सिद्धान्त, राजनीति, धर्म, शिक्षा, प्रेम र घृणा सबै हाम्रा बौद्विक सामाग्री वा संस्कृति हुन् । दिमाग, बुद्धि वा विवेकले निर्माण गरिने हुदा यसलाई बौद्धिक श्रमद्धारा निर्माण गरिएको बौद्विक श्रम भनिएको हो ।
त्यसलाई छुन सकिँदैन तर, ज्ञानको रूपमा आर्जन वा वितरण गर्न सकिन्छ । बुद्धिद्धारा सञ्चालन गर्न सकिन्छ । जस्तो संगित वा साहित्यलाई छुन सकिँदैन तर दिमागले अनुभूत गर्न सकिन्छ, गतिवान हुन वा परिमार्जन संभव छ । त्यसकारण यो बौद्विक संस्कृति हो ।
२. संस्कृतिमा वर्गिय पक्षधरता
हामीले बुझ्नु पर्ने विषय के हो भने संस्कृति वर्गिय हुन्छ । यो असाध्यै महत्वपूर्ण विषय हो । समाज वर्गमा विभाजित छ । धनी र गरिब अथवा अधिकार भएका वा अधिकार हिन, उत्पिडकहरू–उत्पिडितहरू । समाज वर्गमा पूर्णरूपले विभाजित छ । वर्गहरूको आ–आफ्नै संस्कृति हुन्छ । जस्तै :– आजको पुजीपतिको संस्कृति भनेको उसले श्रमिकहरूलाई बढि भन्दा बढि शोषण गर्न पाउँदा खेरी ठिक हुन्छ भनेर सोच्छ । त्यो उसको संस्कृति हो । त्यसको ठिक उल्टो श्रमिकले बढि भन्दा बढि श्रमको उचित ज्याला पाउन पाए हुन्थ्यो । मेरो जीवन म ठिक बनाउन पाउ भन्ने सोच्छ । यो श्रमिक वर्गको संस्कृति हो ।
एउटै समाजमा रहेको फरक वर्गको फरक संस्कृति हुन्छ । त्यसकारण संस्कृति साझा नभई वर्गिय हुन्छ । संस्कृतिको दुई भाग मध्य बौद्विक संस्कृति वर्गिय हुन्छ । तर, भौतिक संस्कृति भने वर्गिय हुदैन । यसले कुनै वर्गिय पक्षधरता लिदैन । जस्तो कि कम्प्युटर पुँजीपति वा मजदुर जुन वर्गले चलाए पनि चल्छ । कुनै बिल्डिङ् बनाईयो भने त्यहाँ को आउन हुने वा नहुने भन्ने हुदैन । त्यहाँ जुन वर्गको जुन मानिस गए पनि हुन्छ । बन्दुकले फलानो वर्गले चलाए चल्छु नत्र चल्दैन भन्दैन । त्यो चलाउनु प¥यो । जसले चलाए पनि चल्छ ।
त्यसैले भौतिक संस्कृतिको वर्गिय स्वरूप वा पक्षधरता हुदैन । तर बौद्विक संस्कृतिको वर्गिय स्वरूप वा पक्षधरता हुन्छ । कुनै पनि विचार सोच्न बितिकै कुनै वर्गको पक्षमा हुन्छ । निवर्गिय बौद्विक संस्कृति हुदैन । जानेर होस् वा नजानेर होस् । त्यसले वर्गिय पक्षधरता लिएको हुन्छ । त्यसैले संस्कृति वर्गिय हुन्छ भन्दा बौद्विक संस्कृति बुझ्नु पर्दछ । राजनीति, विचार, दर्शन, सिद्वान्त वा विज्ञान बौद्विक संस्कृति हो । सडक, कम्प्युटर, मेसिन, बन्दुक, घर आदि भौतिक संस्कृति हुन र यी वर्गिय हुदैनन् ।
(क) मानकले भने वर्गिय पक्षधरता लिदैन
एउटा फेर संस्कृतिको अपवाद जस्तो हुन्छ । जसलाई हामी मानक भन्छौं । मानक खासमा बौद्विक संस्कृति नै हुन्छ । तर पनि त्यसले वर्गिय पक्षधरता लिदैन भनिन्छ । जस्तो कि बच्चाहरूलाई माया गर्नुपर्छ । सुत्कारीलाई स्याहार गर्नुपर्छ । चोरी गर्नु हुदैन । यो मानक पर्छ । यो सबै वर्गमा लागू हुन्छ । यो सबै युगमा बदलिदैन । मानकको स्तरमा फरक भएता पनि अवधारणाको तहमा एउटै हुन्छ । यसलाई संस्कृतिको मानक भन्छौ । यो अपवादको रूपमा हुन्छ । तर, यो पनि बौद्विक संस्कृति हो ।
(ख) भौतिक र बौद्विक संस्कृतिलाई अलग गर्न सकिँदैन
अध्ययनको लागि भौतिक र बौद्विक संस्कृतिमा अलग गरिएता पनि खासगरी यी दुबै संस्कृतिलाई अलग गर्न मिल्दैन । उदाहरणका लागि संगित बौद्विक संस्कृति हो । तर, त्यो भौतिक साधन बजाए पछि निस्किन्छ । संगितका ताल, सुरहरू आफैमा बौद्विक हुन्छन् । तर, त्यो सुर र ताल भौतिक साधनबाट निस्किन्छ । त्यसकारण बौद्विक र भौतिक संस्कृतिलाई अध्ययन गर्न मात्र भाग गरिएको हो । तर यिनलाई एक अर्काबाट अलग गर्न भने संभव छैन । ती एकअर्कामा अन्तरसम्बन्धित हुन्छन्।
निष्कर्षः–
मानिसको श्रम नै संस्कृति हुने र उसले बौद्विक र भौतिक श्रमद्वारा विविध सामाग्री निर्माण गर्ने हुदा संस्कृत उत्पादन सम्बन्ध अनुकुल हन्छ । उत्पादन सम्बन्ध युग समाज अनुसार हुने एवं राज्यसत्ताको आधार (जग) उत्पादन सम्बन्ध भएकोले आधारको अनुकुल उपरिसंरचना निर्माण हुने र चल्ने गर्छ । संस्कृति राज्यसत्ताको उपरिसंरचना हो । युगसमाजका चरण आदिम साम्यवादी, दास मालिक युग, सामान्तवादी युग, पुँजीवादी युग र समाजवादी/साम्यवादी युग हुन् । हामीले निर्माण गर्न खोजेको समाजवादी उत्पादन सम्बन्ध र त्यहि अनुसारको संस्कृति हो । यसको भ्रुण पुँजीवादी उत्पादन सम्बन्ध र संस्कृतिमा हुर्किएको हुन्छ । माक्र्सले वर्तमान विगतको जगमा उभिएको हुन्छ । उनका अनुसार समाजवादी उत्पादन सम्बन्ध र संस्कृतिको भ्रुण पुँजीवादी उत्पादन सम्बन्ध र संस्कृतिमा हुर्कि रहेको हुन्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ११ पुष २०७९, सोमबार १५:३३ बजे