सामुदायिक विद्यालयको जग्गा सूचीकृत

भालुवाङ, ६ पुष ।
गढवा गाउँपालिकाभित्र रहेका धेरैजसो सामुदायिक विद्यालय ऐलानी जग्गामा बनेका छन् । जग्गा ऐलानी भए पनि सरकारी विद्यालयले लामो समय खाली रहेका ती जग्गा भोगचलन गर्दै आएका थिए । विद्यालयका ठूला-ठूला भवन बनेका छन् तर जग्गा विद्यालयको नाममा छैन ।

गढवा गाउँपालिकामा रहेका २५ वटा सामुदायिक विद्यालयको आफ्नै स्वामित्वमा जग्गा नहुँदा विभिन्न समस्या झेल्दै आएका थिए । विद्यालयलाई जग्गा उपलब्ध गराउने भनेर जग्गा व्यवस्थापन समिति बनेको छ । “समितिकै पहलमा जग्गा मालपोत कार्यालय लमहीमा सूचीकृत भइसकेको छ । अन्य कानूनी प्रक्रियाका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ”, जग्गा व्यवस्थापन समितिका संयोजक युवराज पोख्रेलले भन्नुभयो ।

“हाम्रो पालिकामा जति पनि आफ्नो जग्गा नभएका विद्यालय थिए ती विद्यालयलाई तत्कालका लागि भोगचलन गर्ने भनेर मालपोत कार्यालय लमहीले सूचीकृत गरेको छ”, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भन्नुभयो ।

जग्गा व्यवस्थापन समितिले करिब पाँच महिना लामो अध्ययन र छलफल गरेर पालिकाभित्र रहेका २५ वटा सामुदायिक विद्यालयको आफ्नो नाममा जग्गा नभएको निष्कर्ष निकालेको संयोजक पोख्रेलले बताउनुभयो । समितिले ९१ बिघा सात कट्ठा आठ धुर जग्गा व्यवस्थापन गरी मालपोत कार्यालयसम्मको काम सकाएर अन्य काम प्रक्रियाका लागि फाइल अगाडि बढाएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कँवरले जग्गा व्यवस्थापन समितिले लिएको निर्णयलाई सूचीकृत मात्र गरेको जानकारी दिनुभयो । वडा कार्यालय र गाउँपालिकाको सिफारिस पत्र लिएर आएकाले सूचीकृत गरेको भन्दै योभन्दा बढी कार्यालयले केही गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी कामका लागि प्रदेश र सङ्घमा बुझ्न समितिलाई आग्रह गरिएको छ ।

छोटो समयमा विद्यालयको जग्गा व्यवस्थापन गर्न सफल भएको शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले बताउनुभयो । यो कामका लागि स्थानीय सरकार, गाउँपालिकाका पूर्वअध्यक्ष, पूर्वसांसद एवं स्थानीय सामाजिक अभियानकर्मी र शिक्षाप्रेमीबाट निरन्तर सहयोगले सफल भएको र दस्तावेजलाई अभिलेखीकरण गर्न सकिएको अधिकृत विश्वकर्माको भनाइ छ ।

आधारभूत विद्यालय वन घुस्रीको नाममा पाँच बिघा १६ कट्ठा चार धुर, आदर्श प्रावि बडहराको नाममा सात बिघा छ कट्ठा चार धुर, माध्यमिक विद्यालय पचहियाको नाममा १२ कट्ठा, रात्रि प्रावि पचहियाको नाममा १५ कट्ठा, नमूना प्रावि महदेवाको नाममा पाँच कट्ठा, आदर्श रात्रि आविगोवरडिहाको नाममा दुई बिघा नौ कट्ठा, सरस्वती प्रावि सुपैलाको तीन बिघा र कालिका प्रावि पर्सेनीको नाममा १५ कट्ठा जग्गा मालपोत कार्यालयमा सूचीकृत गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो ।

यसैगरी मदरसा अहले सुन्नत दारुसलामको नाममा तीन कट्ठा नौ धुर, प्रावि खजरौटाको नाममा दुई बिघा १० कट्ठा, आधारभूत विद्यालय कक्रहवाको एक बिघा १० कट्ठा, मावि चैनपुरको एक बिघा, बालकल्याण आधारभूत विद्यालयको नाममा दुई बिघा १० कट्ठा, मदरसा रामपुरको नाममा तीन बिघा १० कट्ठा, जनता माध्यमिक विद्यालय गढवाको नाममा ४१ बिघा तीन कट्ठा छ धुर, सरस्वती मावि चन्दनपुरको नाममा चार बिघा तीन कट्ठा १६ धुर, ज्ञानज्योति प्रावि मानपुरको १५ कट्ठा, उदय प्रावि मुसीनाकाको नाममा १५ कट्ठा, महशेन्द्र मावि कोइलाबासको नाममा दुई बिघा, दुर्गा प्रावि खबरी नाकाको १० कट्ठा, जनमुखी मावि रङ्सिङको नाममा १५ कट्ठा, गणेश प्रावि चिमचिमेको नाममा आठ कट्ठा, सर्वोदय प्रावि गढवाको नाममा एक बिघा १० कट्ठा र बालबुद्धि प्रावि खबरीखुटीको नाममा एक बिघा १० कट्ठा जग्गा मालपोत कार्यालयको अभिलेखमा सूचीकृत भएको छ ।