नवनिर्वाचित ज्येष्ठ सदस्य जबराले पद तथा गोपनीयतको शपथ लिँदै

काठमाडौं,६ पुष ।
प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले आज पद तथा गोपनीयतको शपथ लिँदै हुनुहुन्छ । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो ।

नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।


सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो शपथ गराउने कार्यक्रम तय भएको छ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिक तर्फ एक सय १० गरेर दुई सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।