
काठमाडौं, ८ माघ ।
छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ ।
भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको जानकारी गराए ।
‘केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरिसकेपछि हामीले हाम्रान सम्पूर्ण हवाई एवं थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूलाई पनि निगरानी गर्न शुरु गरेका छौँ । त्यसैगरी हामीसँग थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणको लक्षण भएका बिरामीहरूलाई निगरानीमा राख्ने काम गर्नुभएको छ,’ उनले भने ।
प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी पनि दिए ।
निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ ।
‘त्यस्ता व्यक्तिहरू नेपालभित्र आए भने उनीहरूको उपचार गर्नको लागि हामीले अस्पतालहरू समेत तोकेका छौँ । यो संक्रमण सार्ने माध्यम भनेको चमेरो र सुंगुर हो । कि चाहीँ संक्रमित व्यक्ति हो,’ उनले भने, ‘त्यसकारण यी तीन चिजहरूलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसहरूलाई केही समय क्वारेन्टाइनमा रहने र उहाँहरूको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’



लाइभदाङ । ९ माघ २०८२, बिहीबार १९:२१ बजे