कानूनका विद्यार्थीसँग प्रहरीको अन्तरक्रिया

तुलसीपुर, १ पुष ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज विएएलएलबी अध्ययनरत विद्यार्थीहरुले विभिन्न कानुनी प्रावधानका बारेमा प्रहरीसँग छलफल गरेका छन् । हरेक महिना केही सुनौ केही जानौ अभियान अन्तर्गत विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा डिएसपी मल्लले प्रहरी प्रशासन कानूनको पालना गराउने निकायका रुपमा रहेको बताए । उनले अपराधीलाई कसरी कानुनको कठघरामा ल्याउन सकिन्छ भन्ने प्रक्रियाका बारेमा पनि छलफल गरेका थिए । ‘हाम्रा लागि सबैभन्दा ठूलो कुरा प्रमाण हो , प्रहरी जहिले पनि प्रमाण लुक्न नसकोस् भन्नका लागि चनाखो हुनु आवश्यक छ’ डिएसपी मल्लले भने । ‘अपराधिले सजाय पाओस् र निर्दोषले दुख नपाओस् भन्नका लागि हामी सधै प्रयत्नशिल रहेका हुन्छौ’ उनले भने ।


विभिन्न कानुनी प्रावधानका बारेमा विद्यार्थीले राखेका जिज्ञासाका जवाफ दिदै प्रहरी प्रशासनले कानुनी अनुशासनको पूर्ण पालना गर्ने कुरामा जोड दिए । ‘हामीले कुनै पनि कुराको फैसला गर्नेभन्दा पनि अदालतको काममा सहजिकरण गरेर अदालतले दिएको आदेश पालना गराउने कुरामा जोड दिएका हुन्छौ’ उनले भने । सो अवसरमा प्रहरी निरिक्षक रेशम खत्रीले पनि विद्यार्थीहरुलाई कानुनी विषयका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरुले प्रहरीले सुधार्नुपर्ने विभिन्न कुराका बारेमा सुझाव समेत दिएका थिए ।