डिपोको ल्याब रिपोर्ट आएको ४ महिना भयो, तर रिफिल भएन

तुलसीपुर
२२ मङ्सिर / दाङको टरिगाउँ विमानस्थलमा स्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ । तर पनि जहाजमा इन्धन‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणकालागि भारत पठाईएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको ४ महिना भइसकेको छ ।

त्यस्तै मंगलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल बायु सेवा निगमलाई जानकारी पनि गराईएको छ ।

तर, पनि जहाजमा‘रिफिल’ गर्न सकिएको छैन । नेपाल बायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मंसिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यस अघि र त्यस पछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।


उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभाबकारी हुनेछ । यस अघि काठमाडौंबाटै इन्धन ल्याएर आउनु पर्ने अबस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनु पर्ने अबस्था थियो । त्यसले पनि हवाई भाडा महंगो हुँदै आएको थियो ।

अहिले एयरपोर्टमा १९ सिटे टुईनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको,दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।