पुराना पार्टी सच्चिए, विकल्प खोज्नु पर्दैन्

पुराना राजनीतिक दलप्रतिको बितृष्णा छ, र त भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले लोकपृय मत पायो । समानुपातिकमा चौथो दल बन्न सफल भयो । स्वतन्त्र पार्टीको विचार, सिद्धान्तप्रति प्रभाबित भएर त्यो पार्टीलाई मत गएको होईन् । पुराना राजनीतिक दलप्रतिको वितृष्ण, उनीहरुले अहिलेसम्म जनतालाई गरेको ब्यबहार, ब्यक्तीवादी सोँचले गर्दा जनता आजित छन् । जनताले विकास मात्रै हेरिरहेका छैनन्, राज्यप्रतिको सहज पहुँच, शुसासन, जीवनस्तर बृद्धिजस्ता कुराहरु पनि खोजिरहेका छन् । हरेक सरकारले विकास निर्माणका कार्य अगाडी बढाएका छन् । किनकी सत्तामा गएपछि काम गर्ने इच्छा शक्ति नभएका नेताहरु हुँदैनन् । आगामी राजनीतिक यात्रालाई सुरक्षित गर्नलाई पनि सत्तामा हुँदा जनताको लोकपृय बन्ने चहाना नभएका नेता विरलै हुन्छन् । आफूले सक्दो जनताको काम गर्ने र जनताको प्यारो बन्ने चाहाना सबै नेताको हुन्छ । त्यसमा कोही सफल हुन्छन्, भने कोही सक्दैनन् । त्यो उनीहरुको कार्यकुशलता र उनीहरुका सल्लाहकारको भूमिकामा भर पर्छ ।

सबै भन्दा बढि ब्यक्तीबादी र भ्रष्टचारमा लिप्त हुँदा जनतामा सबै भन्दा बढि वितृष्ण पैदा भएको हो । जहाँ पनि कमिशनकै कुरा गर्ने प्रबृति हावी भयो । विकासका नाममा आएको बजेटमा पनि कमिशनको लोभ, सामान्य किसानलाई उपलब्ध गराउने मल,विउमा पनि कमिसन खोज्ने प्रबृति देखियो । स्वास्थ्य सामाग्री खरिदमा त्यस्तै समस्या यसले जनतामा वितृष्ण पैदा गरिरहेको छ । अर्कोतर्फ नातावाद,कृपावादले पनि जरो गाडेर बस्यो । मन्त्री हुँदा स्वकीय सचिब श्रीमान,श्रीमती, छोराछोरी, भान्जाभान्जी, जस्ता नजिकका नातेदार राख्ने । जो कि स्वकीय सचिबको कार्यकुशलताले नै नेतृत्व सफल हुने हो । तर, त्यसमा दक्षता भन्दा पनि आफन्तवाद लागु हुन्छ । इमान्दार र दक्ष ब्यक्तीले अवसर नपाउँदा जति हुनुपर्ने विकास थियो, त्यो हुन सकेको छैन । अन्य सल्लाहकार पनि आसेपासे नै हुन्छन् । बिभिन्न रोजगारका अवसर दक्ष ब्यक्तीले पाउदैनन्, त्यहाँ पनि सत्ता र शक्तिकै प्रयोग हुन्छ ।यस्तै कारणले गर्दा अहिले नागरिकमा वितृष्ण पैदा हुने गरेको छ । र,जनताले विकल्प खोजी गरिरहेका छन् ।


अब आम नागरिक धेरै सचेत भइसकेका छन् । धेरै पटक चुनाब जितेकाहरु पनि अहिलेको निर्वाचनमा हार ब्यहोरिरहेका छन्, यो जनताको चेतनास्तर बृद्धि भएको एउटा प्रमाण हो । जनता मासु र रक्सीमा मात्रै विक्दैनन्, नेताले अहिलेसम्म गरेका कदमहरुलाई पनि नियालिरहेका छन् । त्यसैले पनि पुराना पार्टीलाई भोट हालेका जनताले अहिले नयाँ पार्टीलाई बिकल्पका रुपमा देखिरहेका छन् । तर, त्यो विकल्प पनि दिगो रहने अबस्था भने छैन । किनकी अहिलेको विकल्पका रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी कुन बाटो हिड्ने हो, प्रष्ट छैन । स्पस्ट कार्यनीति नहुँदा बीचमै रनभुल्लमा पर्ने देखिन्छ । त्यसैले लामो समय राजनीति गरेर निखारिएका पुराना पार्टीहरुले यसमा गम्भीर ध्यान दिनुप¥यो । पुराना पार्टीको विकल्प भनेको स्वयः पार्टी नै हुन् । उनीहरुको प्रबृति सुधार गर्ने र युवालाई अवसर दिएमा पार्टीमा सुधार हुन्छ । त्यसपछि जनता पुरानै पार्टीलाई विश्वास गर्नेछन्, र मुलुक अगाडी बढ्नेछ । अन्यथाः विकल्पका नाममा यसरी नै रनभुल्ल पार्ने शक्तिहरु पटक–पटक आइरहनेछन्, मुलुक झन संक्रमणकाल तिर धकेलिनेछ ।
साभार : अग्रिम साप्ताहिक