महोत्सवको विरोधमा उपमहानगरमा तालाबन्दी,थुनिए हाकिम

दीपक बोहरा
दाङ, १५ मंसिर ।
तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । विहीबार तुलसीपुर उपमहानगरपालिकाकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी भित्रै हुलिएका छन् । बन्दकर्ताले बाहिर आउन आह्वान गरेपनि नआएपछि पौडेललाई भित्रै थुनिएको हो । संघले विहान ११ बजेतिर तालाबन्दी गरेको हो ।

युथ्स अफ तुलसीपुरको आयोजनामा आज(विहीबार) देखि २६ गतेसम्म महोत्सवको आयोजना हुदैछ । त्यसकै विरोधमा संघले बुधबारेखि तुलसीपुर बजार बन्द गराएको हो ।“यो महोत्सव लगाउने उपर्युक्त समय होईन्”, संघका अध्यक्ष रामप्रसाद चालिसेले भने “त्यसैले हामीले महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेका हों, बजार पनि हिजो र आज ठप्प प्रायः छन् ।”

यो आन्दोलन मेला बन्द नहुँदासम्मकालागि चल्ने चालिसेले बताए । महोत्सव स्थलका सबै सामाग्री नउठाउँदासम्म आन्दोलनमै रहने उनको भनाई छ । उपमहानगरपालिकाले कार्याविधी बनाएर मात्रै महोत्सव लगाउनु पर्ने समेत उद्योग बाणिज्य संघको माग छ । के का लागि महोत्सव लगाउने, कसरी लगाउने, कसले लगाउने भन्ने विधि नबन्दा ब्यबसायीहरु मारमा पर्ने गरेको अध्यक्ष चालिसेको भनाई छ । यदि उद्योग बाणिज्य संघले पनि महोत्सव लगाउन पाउदैन भनेर विधि बन्यो भने आफूहरुले पनि महोत्सव नलगाउने समेत अध्यक्ष चालिसेले बताए । “२ बर्षदेखि ब्यापार थिलो थिलो परेको छ, सटरको भाडा तिर्न ब्यबसायीलाई हम्मे–हम्मे छ”,उनले भने“ हामीले ब्यबसायीकै हितमा कुरा गर्ने हो, यदि उद्योग बाणिज्य संघले पनि लगाउन पाउँदैन भनेपछि हामीले पनि लगाउँदैनौं ।”

महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव कुनै पनि हालतमा नरोकिने बताए । “हामीले अनुमति लिएरै महोत्सव लगाउन लागेका हौं”, उनले भने “अनुमति लिइसकेपछि हामीले महोत्सव रोक्ने कुरा छैन ।” अहिलेसम्म महोत्सव सञ्चालनकालागि ८९ लाख रुपैँया खर्च भइसकेको समेत उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले साउन १ गते नै अनुमतिकालागि सिफारिश पछि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको भन्दै त्यही अनुसार महोत्सव लगाउन लागिएको लहरेको भनाई छ । अनुमति पाएपछि कात्तिक १४ गते उपमहानगरपालिकालाई एक लाख रुपैँया राजश्व समेत बुझाई सकेको छ । तर, ब्यबसायीको विरोध आएपछि उपमहानगरपालिकाले कात्तिक २९ गते आफ्नो सिफारिशलाई नै लत्याउँदै महोत्सव रोक्नकालागि जिल्ला प्रशासन कार्यालय दाङलाई चिठि पठाएको थियो । सोही पत्रमा लेखिएको थियो‘कार्यपालिकाको निर्णय नभएसम्मकालागि मेला महोत्सव प्रक्रिया अघि नबढाउन पत्राचार नगरिएको सन्दर्भमा सम्बन्धित ठाउँमा मेला महोत्सवको अनुमति नदिएकै अबस्थामा सरसामान ल्याउने जस्ता अटेरी क्रियाकलाप भइरहेको अबस्थामा तत्काल उक्त कार्य रोक्नकालागि पत्राचार गरिएको छ ।’


उपमहानगरपालिकाले महोत्सव लगाउदा शान्ति सुरक्षामा खलल् पुग्ने देखिएको समेत पत्रमा उल्लेख गरेको छ । सोही पत्रपछि प्रमुख जिल्ला अधिकारी हिरालाल अधिकारीले मेला महोत्सवको तयारी कार्य तत्काल बन्द गराउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन गर्नुभएको थियो ।

त्यो बीचमा महोत्सव सञ्चालनका विषयमा तुलसीपुर उपमहानगरपालिकामा छलफल पनि भएको थियो । तर, त्यो छलफल निष्कर्ष विहीन बनेको थियो । महोत्सव कसरी लगाउने विषयमा १२ गते छलफल भयो । त्यो विषयमा थप छलफलकालागि १३ गते पुनः बैठक आयोजना गरिएको भएपनि उद्योग बाणिज्य संघका पदाधिकारीहरु सहभागि नभएपछि त्यो बैठकले सार्थकता पाएन् ।

सधै विवादित महोत्सव
तुलसीपुरमा महोत्सव लगाउन खोज्दा सधै विवाद हुने गरेको छ । यस अघि राप्ती बहिरा संघले छात्रबास निर्माणकाागि भन्दै महोत्सव लगाउने तयारी ग¥यो । २०७४ सालमा संघले महोत्सव लगाउन खोज्दा उद्योग बाणिज्य संघल महोत्सव लगाउन दिएन । यतिबेला महोत्सवको प्रचारप्रसार समेत अगाडी बढिसकेको थियो । त्यतिबेला लागेको खर्च दिने र छात्रबास निर्माण गरिदिने सर्त पछि महोत्सव रोकिएको थियो । तर, बहिरा संघले सर्त अनुसार केही पनि पाएन ।

त्यसपछि २०७८ सालमा तुलसीपुर च्याम्बर अफ कमर्शले महोत्सव लगाउँदा पनि विरोध उत्पन्न भएको थियो । अन्ततः त्यो महोत्सव सफल भयो । यस बर्ष पनि युथ्स अफ तुलसीपुर क्लबले आधुनिक पुस्तकालय निर्माणकालागि कृषि तथा ब्यापारिक महोत्सव आयोजना गर्दा विवाद उत्पन्न भएको छ । उद्यपीः पटक–पटक महोत्सव तथा महायज्ञ लगाएरै तुलसीपुर उद्योग बाणिज्य संघले सभाहल निर्माण गरेको हो ।