
दीपक बोहरा
दाङ,१४ चैत ।
दाङको तुलसीपुरबाट उत्पादन हुने कुबेर जलको फिल्टर विग्रिएपछि बजारमै फोहर पानी गएको छ । बोतलमा सेतो पदार्थ देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले उद्योगमै गएर अनुगमन समेत गरेको छ । अनुगमन पश्चात १५ दिन भित्र सुधार गरेको प्रमाण पेश गर्न निर्देशन गरेको थियो । २६ फागुनमा यसरी निर्देशन गरेको भए पनि अहिलेसम्म त्यसको प्रमाण भने प्राप्त नभएको कार्यालयका सूचना अधिकारी विबेक कुमार सुवेदीले बताए । “फिल्टरको कार्टेज वासरमा समस्या आएर यसरी सेतो पदार्थ देखिएको भन्ने कुरा आयो”,उनले भने “हामीले यसलाई सुधार गर्न तथा बजारमा गएको पानी फिर्ता ल्याएर नष्ट गरेको भिडियो र फोटो कार्यालयमा पेश गर्न भनेका छौं ।”
फिल्टर विग्रिएको अवस्थामा बोतलमा फोहर भएको कुरा जाँच नगरि बजारमा पठाईएको पाईएको हो । करिब एक हप्तासम्म उत्पादन गरेको यस्तै सेतो पदार्थ देखिएको पानी बजारमा गएको पाईएको उनले बताए । ल्याब जाँचमा पनि लापरवाही हुँदा यस्तो पानी बजारमा गएको पाईएको हो ।
नागरिकको गुनासो पनि आएको र आफूहरुले पनि त्यसरी फोहरको देखेपछि यो कुरा सुधार गर्न भनेको उनले बताए । उद्योगले भने अहिले बजारमा गएको त्यस्तो पानी फिर्ता लिइरहेको छ । तर, पनि अझै केही स्थानमा त्यस्ता बोतलहरू समेत भेटिने गरेका छन् । खेलकुद विकासमा विगतमा महत्वपूर्ण योगदान गरेका दिवंगत कुबेर शाहको नामबाट उनको परिवारले कुबेर जल सञ्चालनमा ल्याएका थिए । तुलसीपुर ९ बेलुवामा भद्रकाली पानी उद्योगको नामबाट कुबेर जल सञ्चालनमा छ । आधा लिटरको पानीको बोतलमा यस्तो पदार्थ भेटिएको हो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १४ चैत्र २०८१, बिहीबार ०८:३७ बजे