दंगिशरणमा एक जनाको शव फेला, शान्तिनगरमा एक कंकाल भेटियो

तुलसीपुर, १२ मंसिर ।
दाङको दंगिशरणमा एक जनाको शव फेला परेको छ । दंगिशरण गाउँपालिका वडा नं.३ एकलिमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ । उक्त शव दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३५ बर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ । बुढा गत ४ दिन देखि सम्पर्क बिहिन भएका थिए । स्थानियले आइतबार विहान शव फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए ।


यस्तै पश्चिमदाङमा एक मानव कंकाल फेला परेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ गैरातिल्वारी स्थित बबई नदी किनारको बालुवामा मानव कंकाल फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभयो । कंकालको पहिचान हुन नसकेको र उक्त कंकाल राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखीएको प्रहरीले जानकारी दिएको छ ।