दाङ–३ः कोमल वलीलाई हराउँदै दीपक गिरी विजयी

दाङ, ८ मंसिर ।
दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा ७ हजार ८ सय १० मत ल्याएर विजयी भएका हुन् । ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीे १५ हजार ३ सय मत ल्याएका छन् । गिरी दोस्रो पटक संसदमा प्रवेश गरेका छन् । गिरी २०५१ सालमा एमालेका शंकर पोखरेलसंग हार ब्यहोरेका थिए, भने २०६४ सालमा माओवादीका शुष्मा शर्मा घिमिरेसंग हार ब्यहोरेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा भने गिरीले तत्कालिन एमालेका नेता दिवंगत उत्तरकुमार वलीलाई हराउँदै विजयी भएका थिए ।


२०७४ मा पुनः उनले तत्कालिन एमालेका जिल्ला सचिब हिराचन्द्र केसीसंग हार ब्यहोरेका थिए । अहिले पुनः एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीलाई हराउँदै विजयी भएका छन् । उनी पूर्व सिंचाई मन्त्री समेत हुँन् । सिंचाई मन्त्री हुँदा दाङमा बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यालय खोलेर चर्चा कमाएका थिए ।

उनीसंगै दाङ ३ अन्तर्गतका दुई वटै प्रदेशसभामा गठबन्धनले विजयी हाँसिल गरेको छ । क्षेत्र नं.३(१)बाट काँग्रस नेता डिल्लीबहादुर चौधरी र क्षेत्र नं. ३(२)बाट माओवादी केन्द्रका नेता धनबहादुर मास्की विजयी भएका छन् ।