दाङमा निर्वाचनको तयारी पूरा

दाङ, ३ मङ्सिर ।
दाङमा आईतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण भण्डारीका अनुसार दाङका १५३ वटा मतदान स्थल र ४६५ मतदान स्थलको तयारी पूरा भएको हो ।“मतदानकालागि आबश्यक सबै तयारी पूरा भइसकेको छ, सामग्री सबै तयारी अबस्थामा छन्”,उहाँले भन्नुभयो“आज सबै मतदान केन्द्रहरुमा मतदाताको लाईन, मतदान गर्ने स्थानलगायतका सामग्री तयारी अबस्थामा राखिएको छ ।”

उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटिएका छन् । दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरि ३ हजार ७ सय २० जना कर्मचारी खटाईको हो । साथै मतदान केन्द्रको सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आबश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरि तयारी गरिएको छ । जिल्लाका मतदान स्थलहरुमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको छ । साथै आबश्यक परेको खण्डमा नेपाली सेना समेत परिचालन गर्ने तयारी गरिएको छ ।

अहिले ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभाकालागि ३३ जना उम्मेदवार छन्, भने प्रदेशसभाकालागि ४३ उम्मेदवार छन् । जिल्लामा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यकालागि आईतबार देशभर मतदान हुदैछ । त्यस्तै जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको छ ।

दाङका १२ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको छ । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ । चार मतदान केन्द्रमा महिला मात्रै दाङमा चार मतदान केन्द्रमा महिला कर्मचारीहरुले मात्रै जिम्मेवारी पाएका छन् ।


ति मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई जिम्मेवारी दिइएको छ । महिलामैत्री मतदान स्थलहरुमा घोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारीहरु मात्रै रहनुभएको छ । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहनुभएको छ ।

जसको मतदान अधिकृतमा इन्दु बसेल हुनुहुन्छ । त्यस्तै सोही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहनुभएको छ । यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नंं १७ मा रहेका प्रावि हरिद्वारको (ग) मतदान केन्द्रमा पनि खिमा भुसाललाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । सोही वडामा रहेको गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत रहनुभएको छ । त्यस्तै दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिईएको छ ।

क्षेत्र नं.१ मा २४ वटा,क्षेत्र नं.२ मा १७ वटा र क्षेत्र नं.३ मा २० वटा मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । दाङ क्षेत्र नं.१ मा १५२, क्षेत्र नं.२ मा १४६ र क्षेत्र नं. ३ मा १६७ वटा मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो ।