शिक्षणमा खारिएका‘मेघराज’

तुलसीपुरमा शिक्षा क्षेत्रमा चर्चामा एउटा नाम हो–मेघराज पोख्रेल । २०४४ फागुन १९ गते प्यूठानको झिमरुक गाउँपालिका वडा नं.८ मा जन्मिएका पोखरेलको कर्म थलो भने दाङ तुलसीपुर भयो । उनले दाङमा २०७० साल देखि शिखा सेकेन्डरी स्कुलको बाट आफ्नो अध्यापनको यात्रा शुरु गरेको थिए ।

त्यसपछि जीवन ज्योति इङलिस मिडियम बोर्डिङ स्कुलमा ३ बर्ष प्रधानाध्यापक भए । र करिब २ बर्ष माध्यमिक बिद्यालय बालापुरमा कार्यरत रहे । हाल उनी माध्यमिक बिद्यालय दोघरेमा माध्यमिक तहको अनुदान कोटामा कार्यरत छन् । २०७४ सालदेखि उनी ग्रेट अरणीको माध्यामिक विद्यालयमा पनि कार्यरत रहदै आएका छन् । हाल उनी विहानी सत्रमा कक्षा ११ र १२ मा अध्ययापन गराउँदै आएका छन् ।

शिक्षण पेशामै रहदा उनले शैक्षिक सुधारमा उल्लेख्य भूमिका निर्वाह गरे । जीवन ज्योति स्कुलको प्रिन्सीपल हुँदा शैक्षिक/भौतिक अवस्था सुधार गर्दै बिद्यार्थी संख्यामा समेत उल्लेख्य बृद्धि गर्ने कार्यक्रममा सफल भए ।

हाल ग्रेट अरनीको माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजकको रुपमा कार्यरत छन् । उनले आफू संयोजक हुँदा विद्यालयलाई अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय बनाउन सफल भएको बताउछन् ।‘म अतिरिक्त क्रियाकलापको संयोजक हुँदा विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल छ’,उनले भने । त्यसै गरि मा.वि. दोघरेको मा.वि. तह संयोजकको रुपमा कार्यरत उनले विद्यालयमा मा.वि. संयोजक हुदा विद्यालयलाई शैक्षिक रुपमा अब्बल बनाउने योजना रहेको बताउछन् ।

त्यस सँगै शिक्षण सिकाइ सहयोग अनुदान केन्द्रीय कार्यसमितीको महासचिब, अप्टिमिष्ट क्लब अफ तुलसीपुरको Child Welfare Coordinator, तुलसीपुर नगर जेसिजको पूर्ब उपाध्यक्ष, नेशनल प्याब्सन तुलसीपुरको सचिब, ग्रेट अरणीको माध्यामिक विद्यालयको सञ्चालक समिति सदस्य समेत रहेका छन् । त्यस्तै जीवन ज्योति इङ्लिस स्कुलको संचालक समिति सदस्य, बेबिजोन मन्टेश्वरी स्कुलको सञ्चालक समिति सदस्य, हाम्रो गार्मेन्ट उद्योगको सञ्चालक समिति सहकोषाध्यक्ष, न्यू गौमुखी टे«ड एन्ड सप्लायर्सका सञ्चालक छन् ।

कसरी वित्यो बाल्यकाल
उनी पहाडी जिल्ला प्यूठानमा जन्मिएकाले उकाली, ओराली घाँस दाउरा सँगै पढाइलाई अगाडी बढानु पर्ने थियो । गाउँले परिवेशमा हुर्कदै बढदै बिताएको वाल्यकाल सम्झदा अहिले पनि अविष्मरणिय रहेको उनि बताउछन् ।

उनको वुवा प्राथमिक तहको स्थायी शिक्षक थिए, भने आमा गृहीणी । चार दाजुभाइ मध्ये मेघराज माईलो हुन् । उनले कक्षा ६ सम्मको पढाइ गाउको पाँडेमेला प्राविमा गरे । त्यस्तै कक्षा ८ सम्म जनता माध्यमिक बिध्यालय टिमुरचौर, कक्षा १० सम्मको पढाइ सत्य माध्यमिक बिध्यालय तुषारामा अध्ययन गरे । त्यस्तै उच्च शिक्षाकालागि उनी २०६१ सालमा काठमाडौ गए । काठमाडौंको गीता माता उच्च माध्यमिक बिद्यालय बिजयश्वरीमा कक्षा ११ र १२ को अध्ययन गरे । स्नातकको पढाई उनले महेन्द्र रत्न क्याम्पसमा र स्नातकोत्तर तह २०६९ सालमा त्रिभुवन बिश्वबिद्यालयमा गणित बिषयबाटै पूरा गरे ।


संघर्ष
उनी प्यूठानको विकट गाउँमा जन्मे । तर, सहरी क्षेत्रमा आएर आफूलाई शिक्ष क्षेत्रमा स्थापित गराउन पाउँदा निकै खुसी भएको बताउछन् । यसमा आमा, बुवा परिवार, ईष्टमित्र, साथिभाईको समेत ठूलो हात रहेको उनी बताउछन् ।‘मलाई यो स्थानसम्म ल्याउन आमावुवाको ठूलो हात छ’,उनले भने‘ मार्ग दर्शन गर्ने दाजु, सहयोगी भाइहरु र कुरा बुझ्ने श्रीमती तथा घरपरिवारले पनि यो स्थानमा आउन मद्दत पुग्यो ।’

उनले जीवनलाई सुख, दुःखको मैदानका रुपमा लिन्छन् । ‘जीवन बास्तबमै सुख,दुःखको मैदान हो, अनुभवको संगालो हो । राम्रो कामको राम्रै प्रतिफल र नराम्रो कामको नराम्रो प्रतिफल पाइने कुरा मैले अनुभव गरे’,उनले भने‘त्यसकारण सधैभरी राम्रो काम सत्कर्ममा लाग्न सबैलाइ अनुरोध गर्दछु ।’

उनले बाँकी जीवन शैक्षिक क्षेत्रमै बिताउने योजना बनाएका छन् । शैक्षिक क्षेत्रलाई नै सुधार गर्ने उनको लक्ष्य छ । शिक्षा क्षेत्रको माध्यमवाट समाजमा सकारात्मक परीवर्तन ल्याउने, आफुले काम गर्ने शैक्षिक सँस्थामा संस्कार सहितको प्रविधिमैत्रि शिक्षा प्रदान गर्नका लागि सकारात्मक पहल गर्ने, लगायत आफ्नो कमाईको केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने उनको भावी योजना छ ।

शिक्षा क्षेत्रमा धेरै विकृतिहरु रहको समेत बताए । दूरदृष्टीको अभाब, नीतिगत अस्पष्टता, ब्यबहारिक तथा प्रयोगात्मक शिक्षाको अभाब, बिद्यार्थीमा पढाइप्रतिको बितृष्णा, चरम राजनीतिक हस्तक्षप, अबसर र सुबिधाको समान बितरण हुन नसक्नु, फितलो प्रशासनीक अबस्था, स्तरीय परीक्षा प्रणाली र नतिजा विश्लेषण को अभाब, निजि बिद्यालयप्रति सरकारको स्पष्ट दृष्टिकोण हुन नस्कनुले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताए ।

उनले यस्ता समस्या समाधानकालागि ब्यबहारिक र प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए । नितिगत स्पस्ट्ता, स्थानीय तह तथा शिक्षा सम्बन्धि सरोकार वालाहरुले आ आफ्नो स्थानबाट सामुदायिक शिक्षाको बिकासमा हातेमालो गर्नु पर्ने बताए । त्यस्तै निजि विद्यालयसँग प्रतिष्पर्धी बनाउन कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठन पाठन प्रारम्भ गर्ने र क्षमतावान व्यक्तिहरु शिक्षण पेसामा प्रवेश गर्न सकून भनेर लोक सेवा आयोग सरहको संवैैधानिक शिक्षक सेवा आयोग बनाई शिक्षक नियुक्ति गर्ने प्रकृयाको थालनी हुन आवश्यक रहेको बताए ।

शिक्षण पेसालाई मर्यादित वनाउन नसकेसम्म प्रभावकारी एवं अर्थपूर्ण सिकाइको कल्पना समेत गर्न नसकिने उनको भनाई छ । गुणस्तरीय शिक्षाकालागि गुणस्तरीय शिक्षक भन्ने विश्वब्यापी मान्यतालाई आत्मसात् गर्दै खूला प्रतिश्पर्धाको आधारमा शिक्षक नियुक्ति गर्ने कार्यमा कञ्जुस्याई गर्न हुदैन । शिक्षा संकायका अतिरिक्त अन्य संकायका क्षमतावान व्यक्तिहरुलाई पनि शिक्षक बन्ने अवसर दिई सेवा प्रवेश पछि उपयुक्त तालिमको व्यवस्था पनि गर्न सकिन्छ । यसको लागि शिक्षक पदलाई थप आकर्षित बनाउन आवश्यक हुन्छ । साभारः अग्रिम साप्ताहिक