
आलोक भावुक
गढवा, १७ फागुन।
दाङ देउखुरीको गढवा गाउँपालिका–७ मा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको आफ्नै भवन निर्माणका लागि आइतबार एक समारोहबीच सिलान्यास सम्पन्न भएको छ।
वि.सं. २०७६ सालमा स्थापना भएको केन्द्र हालसम्म भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो। गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको नयाँ भवनले संस्थाको भौतिक संरचना सुदृढ गर्नुका साथै गतिविधिहरूलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
सिलान्यास कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पञ्चैबाजा केन्द्र गढवाको गहना भएको उल्लेख गर्दै लोपोन्मुख मौलिक कला, संस्कृति, भेषभूषा तथा रीतिरिवाज संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। पञ्चैबाजामार्फत गढवा गाउँपालिकालाई देशव्यापी रूपमा चिनाउन सफल भएको उल्लेख गर्दै उहाँले स्थापना कालदेखि नै पालिकाले आर्थिक सहयोग गर्दै आएको र अब संस्थालाई भौतिक रूपमा संस्थागत गर्न भवन निर्माण अघि बढाइएको बताउनुभयो। उहाँले थारु, मधेसी लगायत विभिन्न समुदायको परम्परागत पहिचान बोकेको कला–संस्कृति संरक्षण र प्रवर्द्धनमा गाउँपालिका निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा गढवा उद्योग वाणिज्य संघ का अध्यक्ष ओम प्रकाश बसेलले पञ्चैबाजा केन्द्र गढवाको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो। कला–संस्कृति संरक्षणसँगै गढवाको नाम देशभर रोशन गरेको उल्लेख गर्दै यसको संस्थागत विकासमा उद्योग वाणिज्य संघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यसैबीच, केन्द्रले पछिल्लो समय सांस्कृतिक संरक्षणसँगै शैक्षिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको जनाएको छ। गढवा गाउँपालिका तथा देउखुरी क्षेत्रका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरू शैक्षिक अनुगमन तथा अवलोकन भ्रमणका लागि केन्द्रमा आउने गरेका छन्। पञ्चैबाजासम्बन्धी व्यवहारिक ज्ञान, सांगीतिक सामग्रीको परिचय र मौलिक संस्कृतिबारे जानकारी दिँदा विद्यार्थीहरूको पठनपाठनमा समेत सहयोग पुग्ने गरेको केन्द्रले जनाएको छ।
केन्द्रका अध्यक्ष दयाराम थापाले गाउँपालिकाको निरन्तर सहयोगकै कारण आज भवन सिलान्यास सम्भव भएको बताउँदै यसलाई गर्वको विषय भएको उल्लेख गर्नुभयो। “गढवा पञ्चैबाजा गढवा गाउँपालिकाको गहना हो, यसको संरक्षणका लागि सबैको साथ र सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो।
गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार शिवराज पन्थी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण केन्द्रका उपाध्यक्ष तिलक पुनले गर्नुभएको थियो।



लाइभदाङ । १७ फाल्गुन २०८२, आईतवार १५:४६ बजे