समाज रूपान्तरणमा साहित्यकारको भूमिका महत्त्वपूर्ण : पूर्वमन्त्री शर्मा

घोराही, १९ कात्तिक ।
पूर्वमन्त्री एवम् प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले समाज रूपान्तरणमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

साहित्यकार तथा लेखकहरूसँगको भेटघाटका क्रममा उहाँले हरेक राजनीतिक आन्दोलनमा साहित्यकारहरूले विशिष्ट योगदान पुर्याएको बताउनुभयो । ‘समाज रूपान्तरणका लागि हामी राजनीतिक दलहरू र साहित्यकार तथा लेखकहरू साथसाथै छौं,’ उहाँले भन्नुभयो, ‘साहित्य समाजको प्रतिविम्ब हो, साहित्यकार तथा लेखकहरूले सधै समाजमा अग्रगमनको पक्षपोषण गरिरहनुभएको छ ।’

लामो संघर्ष पश्चात् प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले फेरि एकपटक साहित्यकार पहलकदमी ल्याएर प्रतिगमनलाई परास्त गर्न लागि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अहिलेको गठबन्धन कुनै सत्ता प्राप्तिका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाका लागि भएको धारणा व्यक्त गर्नुभयो । ‘यो गठबन्धनले स्थायित्व र समृद्धि ल्याउन जोड दिने छ,’ शर्माले भन्नुभयो, ‘यो सामान्य निर्वाचन मात्र नभएर संविधान बचाउने मिसन भएकाले यसमा सबैले साथ दिनुपर्छ ।’


प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले यसपटक युवा उम्मेदवारलाई मतदाताको साथ रहने बताउनुभयो । उहाँले आफू केही गर्छु भन्ने भावनाले उम्मेदवार भएको उल्लेख गर्दै न्यौपानेले जनताको विश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य ‘विमल’ ले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनका बीचको लडाइँ भएको बताउनुभयो । उहाँले साहित्यकार सधै परिवर्तन र अग्रगमनको पक्षमा भएको समेत बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरूले विभिन्न सुझाव दिनुभएको थियो । सहित्यकार केएल पीडितले यश पटक सबै साहित्यकार तथा लेखकहरूले गठबन्धनलाई साथ दिने बताउनुभयो ।