टिकटकले चर्चामा आएको चिया घर : मट्का हातमा, नजर नाचमा

दाङ
१९ कात्तिक / हातमा मट्का चिया हुन्छ । नजर नाच तिर हुन्छ – त्यो पनि म्युजिकसहितको । मटकाको स्वाद र टिकटक बनाउनेहरुको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिदै टिकटक बनाउनेहरुको नाच हेर्नेहरुले उतिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

दाङ–सुर्खेत सडक खण्डको केही उत्तर तर्फ । तुलसीपुर ९ बेलुवामा रहेको उक्त मटका घर नामले नै चर्चा छ । त्यसमा पनि मट्का चियाको सेवाले पनि उतिकै चर्चा पाउने पाउछ । त्यहाँको मटका चिया, मट्का विरियानी,कटिया, मटका मासुको स्वादसंगै टिकटकमा रमाउनेको भीड हुन्छ । ओभरहेड लाईट,टिनर लाईट, भिल्ला, लभ र पिङमा सेल्फी हान्नेहरु पनि उत्तिकै हुन्छन् ।

दिनभर कामको थकान मेटाउन त्यहाँ जानेहरु धेरै हुन्छन् ।‘दिनभर कामको थकान हुन्छ’, मटका चियामा पुगेका नारायणपुरका विक्रम बुढाथोकीले भने ‘मटकामा जाँदा मटकाको स्वाद र त्यहाँको झिलिमिलि हेर्दा थकान मेटिन्छ ।’ कोही टिकटक बनाउनकै लागि पनि आउने गर्छन्, भने कोही मट्का चियाको स्वाद लिन आउने गर्छन ।‘मलाई मट्का चिया भन्ने वित्तिकै मन पर्छ’, तुलसीपुर ६ निवासी रतिराम नेपाली भन्छन्‘त्यसैले मट्का चियाको स्वाद लिन आउने गर्छु ।’

मट्का चिया टिकटकमा पनि त्यतिकै छाउने गरेको छ ।‘मैले टिकटकमा देखेँ, त्यसैले यहाँ टिकटक बनाउनकै लागि आएँ’, घोराही भरतपुरकी दिक्षा अधिकारीले भनिन्‘ यहाँ आउँदा यहाँको डेकुरेशन राम्रो लाग्यो ।’

मट्का चिया र विरियानी नै धेरै विक्ने गरेको सञ्चालक सन्दिप भुषालले बताए । त्यो बाहेक मट्का मासु, कटिया,दहि, लस्सी, आईस्क्रिम, पिज्जाको पनि उतिकै माग हुने गरेको उनको भनाई छ । अहिले टिकटक बनाउनकै लागि पनि आउनेहरु धेरै रहने गरेको उनी बताउछन् ।‘प्राय ः शनिबार र अपरान्हको समयमा निकै भीडभाड हुन्छ, कहिल्यै थेग्नै नसकिने भीड पनि हुन्छ’, उनले भने‘ टिकटक बनाउनकै लागि आउने पनि उतिकै हुन्छन्, भने मटकाकालागि पनि उतिकै आउछन् ।’ यहाँको ‘आईडिया’ हेर्नकैलागि धनगढीबाट आउने गर्छन् । पोखरा, काठमाडौंलगायत बाहिरी जिल्लाबाट आएकाहरु पनि मट्काको स्वाद नचाखी फर्किदैनन् । टिकटकबाटै हेरेका कारण पनि त्यसको अवलोकन गर्न पुग्ने गरेको भुषाल बताउछन् ।


अब लगतकै त्यहाँ चिल्ड्रेन पार्क पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनी बताउछन् । मासिक १४ हजार रुपैँयामा करिब सात कठ्ठा जग्गा भाडामा लिएर व्यबसाय सुरु गरेको उनले बताए । ५ जना युवा मिलेर उक्त मट्का घर सञ्चालनमा ल्याएका हुन् । भुषालसंगै आकास सिंह, दिपेन्द्र भट्टराई,रवि क्षेत्री र मनिश धितालको लगानी छ । उनीहरु आफै पनि बिभिन्न ठाउँमा होटेल तथा रेष्टुरेन्टमा अनुभव संगालेका व्यक्ती भएकाले पनि आफ्नो अनुवभ आफ्नै व्यबसायमा लगाए । त्यति मात्रै होईन्, धेरै राम्रा होटेल तथा लजको अवलोकन पछि त्यसलाई प्रेरणाका रुपमा लिएर सञ्चालन गरेको बताउछन् ।‘हामीले बिभिन्न ठाउँमा गरेका होटेल तथा लजहरुको अबलोकन ग¥यौं, त्यसको सिको हामीले यहाँ ग¥यौं ।’ भुषाल भन्छन् ।

फालिएका टायरलाई समेत प्रयोग गरि रोपिएका फुलहरुले पनि उतिकै सुन्दरता बढाएको छ । जिल्लामा ओपन रेष्टुरेन्ट विरलै छन् । त्यसले पनि लोकपृयता बढाएको भुषालको भनाई छ । मान्छेहरु ‘नेचुरल’ हावामा रमाउन चहाने भन्दै ‘ओपन रेष्टुरेन्ट’ आबश्यक रहेको उनी बताउछन् । मट्का चिया धेरै भएपनि मटका विरियानी जिल्लामा नभएकाले नै सञ्चालन भएको पाँच महिनामै निकै लोकपृय बनेको उनको भनाई छ ।‘हामीले असार ३ गते उद्घाटन गरेका हौं, त्यसपछि नियमित ग्रहाकहरुको घुँइचो लाग्ने गर्छ ’ उनले भने‘दैनिक २÷३ वटा जन्मदिन र २५० भन्दा बढिलाई सेवा दिन पाईएको छ ।’ अबको केही समयमा मट्का तन्दुरी बनाउने तयारी रहेको उनले बताए । सबै मट्काकै आईटम बनाएर वितरण गर्ने उनले बताए ।‘अहिले मट्काको क्रेज पनि धेरै छ, स्वाद पनि राम्रो हुन्छ’, उनले भने‘त्यसैले मट्कामा बनेको खानेकुराप्रति धेरै मान्छेहरु प्रभाबित हुने गरेका छन् ।’ करिब ६० लाख लगानीमा उक्त मट्का घर सञ्चालनमा ल्याईएको हो ।

माटाका भाडाको माग
मट्का चियाको माग बढेपछि माटाका भाडाको पनि उतिकै माग बढेको छ । अहिले मटका चिया तुलसीपुरमा मात्रै दैनिक १०० वटा भन्दा बढि मट्का चिया मात्रै बिक्री हुन्छ, भने ४० भन्दा बढि विरियानी विक्री हुने गरेको छ । यसले माटाका भाडाको माग बढाएको भएपनि तुलसीपुरबाट त्यो आपूर्ति हुने अबस्था छैन । अहिले देउखुरीबाट माटाका भाडा ल्याउनु पर्ने अबस्था रहेको सञ्चालक भुषालले बताए ।‘तुलसीपुरबाट अहिले मटका आपूर्ति आउन सकेको छैन’, उनले भने‘त्यसैले अहिले देउखुरीबाट ल्याउने गरेका छौं ।’

१४ जनालाई रोजगार
अहिले त्यहाँ १४ जनालाई रोजगार प्रदान गरिएको सञ्चालक भुषालले बताए । उनका अनुसार ४ जना कुक, ४ जना वेटर सहित रहेका छन् । साभार :अग्रिम साप्ताहिक

May be an image of 3 people and text