विद्यार्थीहरुसँग भोट माग्दै कोमल वली

दाङ, १८ कात्तिक ।
नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेशसभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयका विद्यार्थीहरुसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका वडा नं. १ गंगटे स्थित सरस्वती जनता माविमा वली र बस्नेत सहितका नेता तथा कार्यकर्ताहरु पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिन्हमा भोट हालिदिन भन्न विद्यार्थीहरुसमक्ष अनुरोध गरेका छन् ।

उनीहरुले विद्यार्थीलाई विद्यालयको परिसर बाहिरको मैदानमा राखेर चुनावको पोष्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषण समेत गरेको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । ‘दिउँसोको खाजा खाने समय थियो, हामी विद्यालयको प्रांगणमा खेलिरहेका थियौं’, ती विद्यार्थीले भने ‘त्यसपछि उहाँहरु झट्टपट्ट आएर हामीहरुलाई विद्यालयको परिसर बाहिर ल्याउनु भयो अनि पोष्टरपम्प्लेट दिनुभयो र एमालेको सूर्य चिन्हमा भोट हाल्न बाबाआमालाई भन्नु है भन्दै भाषण गर्नु भयो ।’


ओलीले त्यहाँ भाषण मात्रै गरिनन्, नाचगान पनि गरिन् । उनले ‘मलमलकिरी जुनकिरी’ बोलको गीत गाईन्, र सबै विद्यार्थीहरुलाई समेत नचाईन् । विद्यार्थीहरुसंगको फोटो कोमल वलीको सचिवालयले सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरेको थियो । तर, केही समयपछि ती फोटोहरु डिलिट भएका थिए ।

यस विषयमा बुझ्न खोज्दा उम्मेदवार वली र बस्नेत दुबैजनासँग सम्पर्क हुन सकेन । उम्मेदवारसंग गएका एमालेका एकजना कार्यकर्ताले विद्यालय विदा भएपछि कार्यक्रम भएको स्वीकार गरेका छन् । विद्यालयको अवस्था बुझ्न जाँदा विद्यार्थीहरु विद्यालयमा भेटिएको र सानो कार्यक्रम गरिएको उनको भनाई छ । साभारः नयाँ पत्रिका