सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सल्यान, १४ कात्तिक ।
सल्यानमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ निवासी २० वर्षीय रेवन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभएको छ । विवाह गर्ने प्रलोभन देखाई १८ वर्षीया किशोरीलाई १२ गते राती बनगाड कुपिण्डे नगरपालिका १ माल्पेको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाई रहेको छ ।

जबरजस्ती करणाी पश्चात ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाइ भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


कुटपिटबाट घाइते भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ । अभियुक्त बुढालाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धान अघि बढाईएको सल्यान प्रहरीले जानकारी दिएको छ ।