मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

तुलसीपुर, ९ कात्तिक ।
मोटरसाइकलको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१९ दोघरेमा कोठा भाडामा बस्दै आएका ९ वर्षका बालक बिप्लव बूढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । मृतक बालक रोल्पाको थबाङ गाउँपालिका –४ मलेगिरी निवासी सुकबहादुर बूढाका छोरा भएको प्रहरीले बताएको छ ।

हिजो बिहान ८ बजे नालीमा मृत अवस्थामा भेटिएका बालकको घटना स्थलमा खसेको टुक्राबाट प्रहरीले ठक्कर दिने मोटरसाइकल सहित चालकलाई पक्राउ गर्न सफल भएको हो । कोठाबाट ७ गते साँझ करिब साढे छ बजे मामाको घरमा जाने भनेर निस्कीएका बालक भोलीपल्ट बिहान नालामा मृतमा अवस्थाम फेला परेपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो ।


कोठा र मामाको घर करिब ५० मिटर टाढाको दूरीमा पर्छ । प्रहरीले रा २ प ४३५८ नम्बरको मोटरसाइकल सहित चालक तुलसीपुर उपमहानगरपालिका– १७ भीतुरे निबासी २१ बर्षका अनिल बिकलाई पक्राउ गरेको छ । खोजतलास गर्दै गएको प्रहरीले मोटरसाइकललाई बोराले छोपेर आफु घरको बइकलमा लुकेको अवस्थामा पक्राउ गरेको थियो ।