
दाङ
६ कात्तिक / दाङको बबई नदीबाट डुबेर बेपत्ता भएका दुई किशोरीको शब निकालिएको छ । उनीहरुलाई स्थानीयले आईतबार दिउसो साढे ३ बजेतिर निकालेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गोताखोरको टोली पुग्नु अघि नै स्थानीयले पानी मुनी गएर शव निकालेका हुन् । शव पानी मुनी गाडिएको अबस्थामा थिए । नुहाउन गएका दंगीशरण गाउँपालिका वडा नं. २ सिमलकुुना निवासी अन्दाजी १५/१६ बर्षीया रमा शाह र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द शनिबार दिउसो पौने २ बजेतिर वेपत्ता भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन जना किशोरी गएका थिए । ति मध्ये दुईजना पौडी खेल्न पनि बीचमा गएको र अर्का दंगीशरण २ सिमलकुना निवासी १३ बर्षीया निरुता बस्नेत छेउमै थिइन् ।
उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।



लाइभदाङ । ६ कार्तिक २०७९, आईतवार १८:१८ बजे