अवसरकालागि मरिहत्ते नगर्ने ‘गिरीराज’

कुनै बेला थियो, दाङ जिल्लाका गनिने बामपन्थी अनुहार हुन्थे । पंचायती व्यवस्थाको राप र ताप थियो । त्यतिवेला व्यवस्थाको विरोधमा लाग्नु निकै चुनौतीको कुरा हुन्थ्यो । त्यस्तो चुनौतीलाई चिर्दै बामपन्थी आन्दोलनमा सक्रिय योद्दाको नाम हो गिरिराज केसी ।

आन्दोलनमा सक्रिय रहने तर अवसर प्राप्तीको लागि मरिहत्ते नगर्ने स्वभावका कारणले केसीलाई संसदीय फाँटमा सक्रिय बनाउन सकेन । २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा केसी दाङको क्षेत्र नंं. ४ बाट उमेदवार बन्नुभएको थियो । धेरैले नेपाली काँग्रेसको दवदवा रहेको र खुमबहादुर खड्का निर्वाचनमा होमिएको बेला किन प्रतिष्पर्धा गरेको होला भनेर निर्वाचनमा नजान भनेका थिए, तर केसीलाई पार्टीले भनेपछि ज्यान पनि दिउँ लाग्ने । उहाँ उमेदवार हुनुभयो । यो निर्वाचनमा उहाँ उप विजेता बन्नुभयो ।

२०५६ सालको निर्वाचनमा उहाँ पुनः संसदीय निर्वाचनमा उमेदवार बन्नुभयो । त्यतिवेला उहाँ दाङको क्षेत्र नंं. ३ मा उमेदवार बन्नुभयो । यो निर्वाचन पनि उहाँका लागि सुखद रहेन । बापमन्थी राजनीति गरेपछि कुनै अवसरका लागि होइन जनतालाई व्युताउनका लागि हो भन्ने नेत्रलाल पौडेलको स्कुलिङबाट प्रभावित हुनुभएका केसी दुई पटक निर्वाचनमा होमिनुभयो । दुवै निर्वाचनमा जित हासिल नभएपछि उहाँ लामो समय पार्टी काममा लाग्नुभयो । गाउँ घरमै रहनुभयो ।

झुपडीमा रमाउनुभयो । किसानसंगै रहनुभयो । राजनीतिक अधिकार प्राप्तीको लागि भएको पछिल्लो जनक्रान्ती २०६२/०६३ मा पनि सक्रिय रहनुभयो । आन्दोलनमा खट्ने सवालमा केसी कहिल्यै कमजोर हुनुभएन । जहिले पनि डटिरहनुभयो । कुनै बेला यस्तो थियो केसीको नाम लिएपछि जमिन्दारहरु थर्कमान हुन्थे । शोसकहरु झस्कन्थे । केसीले बहुसंख्यक नागरिकको हितमा काम गर्नुभयो ।

संघर्षपूर्ण विगत बनाउनुभएका गिरिराज केसी यतिवेला नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नं. २ को (२) मा उमेदवार बन्नुभएको छ । क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल उमेदवार बन्ने चर्चा चलिरहदा प्रदेस सभामा को उमेदवार बन्ला भन्ने धेरैलाई जिज्ञासा थियो । आंकाक्षीहरुको लिष्ट पनि लामै थियो ।

यसै मेसोमा टिकट केसीले पाउनुभयो । केसीले २(२)बाट टिकट पाएपछि धेरैले केसीमाथि न्याय भएको प्रतिक्रिया दिइरहेका छन । लामो समय अवसरबाट बञ्चित केसीले टिकट पाएको क्षेत्र तुलनात्मक रुपमा बामपन्थीको गढ रहेको क्षेत्र हो । अघिल्लो पटक पनि यो क्षेत्रबाट नेकपा एमालेका उमेदवार नै विजयी भएकाले केसीका लागि निर्वाचन जित्नु त्यति गाह्रो नहुने बुझाइ रहेको छ ।

केसीको जन्म
केसीको जन्म २००९ सालमा भएको थियो । बुवा चक्रबहादुर केसी र आमा धनीदेवी केसीको सन्तानका रुपमा केसीको जन्म भएको थियो । उहाँमा राजनीतिक चेतना आउँदै गर्दा मुलुकमा पंचायती व्यवस्था थियो । पंचायती व्यवस्थाका काला दिनहरु भोग्दै जाने क्रममा उहाँमा राजनीतिक चेतनाको विकास भयो । २०२५ सालमा पार्टीको सम्पर्कमा आउनुभएका केसी २०२६ सालदेखि अनेरास्ववियुमा आवद्ध रहनुभयो ।

२०३२ सालसम्म अनेरास्ववियुको जिल्ला कमिटी सदस्यका रुपमा काम गर्नु भएका केसीले २०३२ देखि २०३५ सम्म अखिल नेपाल किसान संघको क्षेत्रिय कमिटीको जिम्मेवारी पाउनुभयो । २०२५ सालदेखि राजनीतिक चेतना विकास हुँदै गएको भएपनि केसी २०३५ सालदेखि पार्टीमा पूर्णकालिन जस्तै हुनुभयो । त्यसपछिका दुई बर्ष उहाँले तत्कालिन नेकपा मालेमा आवद्ध भएर क्षेत्रिय कमिटीको संयोजकका रुपमा काम गर्नुभयो ।

राजनीतिक आवद्धता
विद्यार्थी राजनीतिमा लागेको भएपनि केसीले पार्टीको सदस्यता पाउनुभएको थिएन । त्यतिवेला पार्टीको सदस्यता पाउनु नै मुस्कील हुन्थ्यो । निकै फलामे अनुशासनमा बाँधिनुपर्ने अवस्था हुन्थ्यो । केही बर्ष अघि देखि बामपन्थी राजनीतिमा लागिरहेको भएपनि २०३७ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभयो । त्यसको एक बर्षपछि २०३८ सालमा केसी नेकपा मालेको जिल्ला कमिटी सदस्यमा आउनुभयो । नेकपा मालेको जिल्ला कमिटीमा आएपछि उहाँ पूर्णकालिन रुपमा पार्टी काममा लाग्नुभयो ।


जेल यात्रा
पंचायती व्यवस्थाको विरोध गर्नु निकै कठिन कुरा थियो । त्यतिवेला व्यवस्थाको विरोध गर्नेलाई राजकाज र शान्ति सुरक्षा खलवल पु¥याएको आरोप लगाएर पक्राउ गर्ने गरिन्थ्यो । सोही क्रममा उहालाई शान्ति सुरक्षा खलल पु¥याएको भन्दै २०४० सालमा पक्राउ गरियो । त्यतिवेला उहाँ नौ महिना जेल बस्नुभयो ।

त्यसपछि २०४३ सालमा राजकाज मुद्दामा पुनः उहाँलाई जेल हालियो । २ बर्ष ६ महिना जेल विताएर २०४५ सालमा रिहा भएपछि उहाँ पुनः भूमिगत राजनीतिमा लाग्नुभयो । २०४६ साल चैत २६ गते ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात उहाँ खुला राजनीतिमा आउनुभयो ।

सामाजिक काममा
राजनीतिक यात्रामा होमिएको भएपनि केसीको योगदान सामाजिक आन्दोलनमा पनि रह्यो । सामाजिक अभियन्ताका रुपमा केसीले विभिन्न आन्दोलनको नेतृत्व गर्नुभयो । २०३४ सालमा नै उहाँले मोही हक हितमा संलग्न रहेर काम गर्नुभएको थियो ।

यसका साथै विभिन्न विद्यालयहरुको सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षका साथै अन्य भूमिकामा रहेर काम गर्नुभयो । सडक आयोजना, विद्युत आयोजना, खानेपानीका आयोजना र सडक निर्माणका लागि जिल्ला देखि मन्त्रालयसम्म पुगेर अभियान संचालन गर्नुभयो । सामाजिक रुपमा रहेका समस्याका लागि जुध्ने काम पनि केसीले गर्नुभयो ।

२०५६ साल देखि २०६४ सालसम्म विभिन्न खोला, कुला र कुलाको बाँध संरक्षणका लागि केसीले भूमिका खेल्नुभयो । प्राकृतिक स्रोत साधनको दुरुपयोग भइरहेको कुरालाई रोक्नका लागि केसीले खेलेको भूमिका कारणले गर्दा दाङका कयौं खोलाहरुको सँरक्षणका लागि योजनाहरु बनाइए ।

हालको भूमिका
लामो समय पार्टी कमिटीमा रहेर भूमिका खेल्नुभएका केसी हाल नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको सदस्यका रुपमा हुनुहुुन्छ । राजनीतिमा लाग्दै गर्दा उहाँले धेरै पटक अरुलाई जिताउनका लागि भूमिका खेल्नुभयो । पटक पटक अरुलाई अघि बढाउनका लागि भूमिका खेल्नुभएका केसी यतिवेला आफै निर्वाचनको मैदानमा हुुनुहुन्छ । दाङ जिल्ला क्षेत्र नंं २ को २ मा उहाँ प्रत्यक्ष तर्फ उमेदवार बन्नुभएको छ । उमेदवार बन्दै गर्दा उहाँका लागि अनुकुल अवस्था पनि देखिएको छ ।

घोराहीतर्फ रहेका आठ वडामध्य तीनवटा वडा बाहेक पाँच वटा वडामा नेकपा एमालेका अध्यक्षहरुले जितेका छन् । घोराहीका वडा नं. ६, ७, ८, ११, १२ गएको स्थानीय निर्वाचनमा गठवन्धनका बावजुत पनि नेकपा एमालेले जितेको थियो । वडा नं. १६ मा अध्यक्ष र एउटा सदस्य मात्रै नेपाली काँग्रेसका उमेदवार विजयी भएका थिए । यस्तै वडा नं. १० मा अध्यक्ष र दुईजना सदस्य गठवन्धनबाट निर्वाचित भएका थिए ।

घोराहीको वडा नंं १६ मा तीनजना र वडा नं. १० मा दुईजना सदस्य नेकपा एमालेका उमेदवार विजयी भएका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिका अन्तरगत चारवटा वडाहरु रहेका छन् । जसमा दुईवटा वडा अर्थात वडा नं. १८ र १९ मा नेकपा एमालेका उमेदवारहरु अत्यधिक मतका साथमा विजयी भएका थिए ।

यस्तै वडा नं. १७ मा अध्यक्ष गठवन्धनका तर्फबाट र बाँकी चार जना सदस्य नेकपा एमालेका विजयी भएका थिए, भने वडा नं. १६ मा अध्यक्ष स्वतन्त्रबाट विजयी हुँदा चार जना सदस्य नेकपा एमालेका उमेदवारहरु विजयी भएका थिए । यसरी हेर्दा गिरिराज केसी उमेदवार भइरहेको क्षेत्रमा नेकपा एमाले गठवन्धनको तुलनामा निकै अघि देखिएको छ ।