किशोर–किशोरी हत्या प्रकरणः फरेन्सिक बिज्ञले पोष्टमार्टम गर्ने

दीपक बोहरा
दाङ
३१ असोज / दाङको तुलसीपुरमा हत्या गरेर खाडलमा पुरिएका दुई किशोर–किशोरीको पोष्टमार्टम फरेन्सिक विज्ञबाट गरिने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत डा. बिभुति शर्माले उक्त पोष्टमार्टम गर्ने भएका छन् । दुईजनाको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राखिएको छ । तर, तुलसीपुरमा फरेन्सिक विज्ञ नुहँदा घोराहीबाट ल्याएर पोष्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए ।

उनका अनुसार बिवादित तथा कानुनी प्रक्रिया अघि बढ्ने केशहरुका सन्दर्भमा विज्ञहरुबाटै पोष्टमार्टम गर्दा राम्रो हुने भन्दै फरेन्सिक विज्ञ मार्फत पोष्टमार्टम गर्न लागिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।‘कानुनी जटिलता आउने, विवादित विषयहरुमा हामीले विज्ञहरु मार्फत मोष्टमार्टम गर्दा राम्रो हुने भएपछि हामीले प्रतिष्ठानबाट डा. बिभूतिलाई बोलाएका हौं’,उनले भने‘ उहाँले शवलाई उतै पठाईदिनुस् भन्नु भएको छ, तर, हामीले यतै आउन अनुरोध गरेका हौं ।’ सकेसम्म भोलि नै पोष्टमार्टम गर्ने गरि तयारी रहेको समेत उनले बताए ।

हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ब्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । तर, सन्तोषजनक प्रगति हुन सकेको छैन । प्रहरीले अनुसन्धानको काम गरिरहेपनि अझै घटनाको विषयमा तथ्य पत्ता लाग्न सकेको छैन । अनुसन्धानकै लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतम पनि तुलसीपुरमै छन् । अनुसन्धान जारी रहेपनि अझै पनि सोचे अनुरुपको प्रगति हाँसिल गर्न नसकिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।‘सोँचे अनुरुप प्रगति हाँसिल गर्न सकिएको छैन, हामी अनुसन्धान मै छौं’,उनले भने‘अझै चित्त बुझ्दो हुन सकेको छैन ।’

पीडितहरु अहिले पीडामा रहेकाले धेरै कुरा बोल्न नमानिरहेकाले पनि उनीहरुको सम्बन्धका बारेमा धेरै कुरा आउन नसकेको उनले बताए । अहिले शंकास्पद ब्यक्तीहरुलाई सोधपुछ गरिरहेको भएपनि अझै त्यसको नजिकसम्म पुग्न सकिएको अबस्था नरहेको डीएसपी गौतमले बताए । ति केटाकेटीको आनीबानी बुझ्न उनका साथीहरुलाई पनि सोधपुछ गरिएको प्रहरीले बताएको छ ।

केटाकेटीको मोवाईल पनि भेटिएको छैन । एक जना टिप्पर चालकलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ । ति चालकले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।‘पटक–पटक फरक क्लू आयो भने त्यही अनुसार हामीले अनुसन्धान गरिरहेका छौं, घटना स्थलमा पनि गइरहेका छौं’,उनले भने‘धेरै सम्भावनाहरु लिएर हामीले अनुसन्धान गरिरहेका छौं ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ दमारगाउँ स्थित एक सामुदायिक बनमा दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ निवासी १५ बर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी रोशनी महतारालाई हत्या गरि एउटै खाडलमा गाडिएको अबस्थामा आईतबार दिउसो १२ बजेतिर फेला पारिएको थियो ।


उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा ढुंगा प्रहार भएको जस्तो देखिने डीएसपी गौतमको भनाई छ । तर, यो विषयमा पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने उनको भनाई छ ।

उनीहरु असोज २७ गते रातिदेखि परिवारको सम्पर्क विहीन बनेका थिए । केटाको शव तल र केटीको शव माथि राखेर गाडिएको थियो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्रोतले बताएको छ ।

खाडल खनेर गाडिएको अबस्थामा फेला परेका उनीहरुको शब गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर उनीहरुको शव निकालेर परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

केटीको घर तुलसीपुर १३ स्थित डाँडागाउ हो । उनका आमा वुवा कमाउन भारत गएका थिए । घरमा दुई दिदी बहिनी बस्थे । त्यो दिन राति मोवाईलमा एक जना टिप्पर चालकले फोन गरको पाईएको थियो । अहिले ति टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछ जारी राखिएको प्रहरीको भनाई छ ।

केटा आचार्यको घर दंगीशरण ६ थपगाउँ हो । तर, उनी दमारगाउँ मावलीमा बस्दै आएका थिए । उनीहरु दुबै जना एउटै स्कुलमा पढ्थे । तुलसीपुर १३ स्थित अम्बापुर स्कुलमा आचार्य कक्षा ८ र महतारा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरु हराएकै दिन राति १२ बजेतिर ‘बचाउ’ भन्ने आवाज आएको स्थानीयले बताएका छन् ।