कपुरकोट गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्दै

सल्यान, ३० असोज ।
सल्यानको कपुरकोट गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नायव सुब्बा, खरिदार शिक्षा प्रा.स. तथा प्राथमिक एवम् निम्नमाध्यमिक तहको सेवाका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

कक्षा लिनका लागि योग्यता पूगेका पालिकाभित्रका इच्छुकहरुले आगामी कार्तिक ६ गते सम्म आ-आफ्ना वडा कार्यालयमा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारि दिए । पछिल्लो समय स्थायी जागिरको लागि आकर्षण बढ्दै गएपछि गाउँपालिकाले तयारी कक्षा सञ्चलनको तयारी गरेको हो ।

कपुरकोट गाउँपालिकाबाट पनि प्रतिष्पर्धी जनशक्ति उत्पादन गरेर स्थायी जागिरका लागि योग्य बनाउन निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । उनले भने, ‘लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा लिनलाई टाढा जानुपर्ने र रकम तिर्नुपर्ने बाध्यता छ । यसलाई मध्यनजर गरेर हामीले आफ्नै गाउँठाउँमा दक्ष प्रशिक्षकहरुबाट कक्षा सञ्चालनको व्यवस्था मिलाएका छौँ ।’ सबै कक्षाहरुमा एक सय घण्टाको पुरा कोर्ष पढाइ हुने गाउँपालिकाले जनाएको छ ।


हाल निवेदन संकलन गरिने र दिपावली तथा छठ पर्व लगत्तै कक्षा सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय स्तरका प्रशिक्षक मार्फत कक्षा सञ्चालन हुने जनाउदै प्रमुख प्रशासकीय अधिकृत वलीले कक्षा सञ्चालन मिति र स्थानबारे अर्काे सूुचना प्रकाशित गरिने बताए । कपुरकोट गाउँपालिकाबाट स्थायी सरकारी सेवामा अवसर पाउनेहरुको संख्या न्यून छ । कक्षा सञ्चालन भएपछि सरकारी सेवामा प्रवेशका लागि गाउँपालिकाका युवायुवतीहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।