कपुरकोट–५ मा पहिरोले २ घर ४ गोठ बगायो, दर्जन बढी घर उच्च जोखिममा

सल्यान, २१ असोज ।
अविरल वर्षापछि आएको पहिरोले कपुरकोट गाउँपालिका वडा नं.५ मा एक वस्तीलाई बगाएको छ । कपुरकोट–५ स्थित सल्लाम गाउँको एउटा वस्तीमा माथिबाट पहिरो झरेको हो । पहिरोले अहिलेसम्म ६ वटा घरगोठ बगाएको छ ।

           

अन्य एक दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेको कपुरकोट ५ का वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए । स्थानीय केशर राना र शुकलाल रानाको घरगोठ तथा विजय सिंह र गोपी बुढाको गोठ पहिरोसंगै बगेको उनले जनाए ।


वडा अध्यक्ष खड्काका अनुसार मानवीय क्षती भने भएको छैन । घरपरिवारका मानिसहरु भागेर ज्यान जोगाउन सफल भएको उनले जानकारी दिए ।

घरवास बगाएर विचल्लीमा परेका उनीहरु छिमेकीको घरमा बसेका छन् । जनप्रतिनिधी, प्रहरील लगाएतका स्थानीयहरु उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा खटिएका छन् ।