रेड मिट कसले कति खाने ?

काठमाडौं,१७ असोज ।
दशैँको समयमा अधिकांश भान्सामा मासुको परिकार धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।

क्लिनिकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार चाडबाडको समयमा रेड मिट बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्नसक्छ । रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ ।

सेनका अनुसार ५० केजी तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस रेड मिट खानु स्वास्थ्यवद्र्धक हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउनसक्ने उनी बताउँछिन् ।


प्रोटिनको मात्रा अधिक नहोस् भन्नलाई गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान उनको सुझाव छ । विशेषगरी फ्रेस मिट, तथा अनप्रोसेस्ड मिटमा धेरै प्रोटिन माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुने भएकाले एकैपटक धेरै खाँदा ब्लड प्रेसर, मुटसम्बन्धि विभिन्न समस्या तथा, कोल्स्ट्रोल बढ्नसक्छ ।

दीर्घरोगीहरूले भने एकसय ग्रामका हिसाबले साताको तीन पटक कुखुरा वा माछा खान सकिने तर रेड मिट भने मासिक १ पटक मात्रै खाए स्वास्थ्यवद्र्धक हुने उनको सुझाव छ ।