सल्यान कपुरकोट दुर्घटनामा घाइते भएका तिलकको उपचारका क्रममा निधन

सल्यान,१३ असोज ।
सल्यानको कपुरकोटमा मंगलबार बिहान भएको दुर्घटनामा घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको बुधबार उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको परिवारले जनाएको छ । उनको मृत्युसँगै यो दुर्घटनामा परेका ९ जनाकै मृत्यु भएको छ । ९ जना सवार रा १ ज ५६३ नम्वरको जीप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलवाङतर्फ जाँदै थियो । मंगलबार बिहान करिब साढे ३ बजेतिर जीप कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका वडा नं. ६ र ५ को सिमानामा पर्ने जलवाङ गाउँका स्थानीय हुन् । उनिहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।


दुर्घटनामा परि घटनास्थलमै ज्यान गुमाउने ४५ बर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० बर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ बर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाई हुन् भने बसन्त टोप बहादुरका छोरा हुन् ।

कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका अंकलका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षिय खुमलाल ओली पनि १३ दिने भाईसन्तान भित्रका पर्दछन् ।

त्यस्तै दुर्घटनामा सोहि गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीकोपनि मृत्यु भएको छ । गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो । चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।