
तुलसीपुर,३ बैशाख।
दाङको तुलसीपुरमा सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा सल्यान बागचौर नगरपालिका वडा नं.२ निवासी २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन् ।
यसरी भयो पक्राउ
गत वैशाख १ गते दिउँसो अन्दाजी १७:१५ बजेको समयमा सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बेचबिखन भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट नक्कली छाप र विभिन्न सवारी दर्ता किताबहरू बरामद भएपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो।
बरामद गरिएका सामग्रीहरूमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब- १ थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेत लेखिएको डिजिटल छाप – १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब – १ थान, बागमती प्रदेश ०२-०४५ प १७३० नम्बरको निलो रङ्गको यामाहा ख्घ मोटरसाइकल – १ थान रहेको छ । पक्राउ परेका तीनै जनालाई दाङ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।



लाइभदाङ । ३ बैशाख २०८३, बिहीबार १०:३४ बजे