बालश्रम मुक्त वडा घोषणा

गोकर्ण पौडेल
तुलसीपुर, ७ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२ र ६ वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८मा दश जना बालबालिकाहरु व्यवसायीक र घरेलु कामदारकारुपमा रहेका थिए ।

ती मध्ये सात जना अन्यत्रका र तीन जना वडाभित्रकै रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । दश जना बालबालिकाहरुलाई परिवारमै स्थानान्तरण गरिएको थियो ।


तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ र १७लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ । बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । वडाध्यक्ष माधव वलीले बालश्रममा रहेका बालबालिकाहरुको परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि उद्यमशील कार्यका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो ।

उहाँले ती बालबालिकाहरुलाई विद्यालयमा पढ्नका लागि शैक्षिक सामग्री, पोशाक उपलब्ध गराइएको जानकारी दिनुभएको हो ।