बादी समुदायका प्रथम नगर प्रमुख पुष्प बादीको एक चर्चा

शेर बहादुर के.सी
नेपालको उत्पीडित सीमान्तकृत समुदायहरुमध्ये एक बादी समुदायको एउटा गरीब परिवारमा बुवा असारे नेपाली (बादी) र आमा पार्वती नेपाली (बादी)को पहिलो सन्तानको रुपमा साबिक विजयश्वरी गाविसको वडा नं. २ रुकुम स्थित मनकोट भन्ने ठाउँमा मिति २०३१ असोज १ गतेका दिन पुष्प बादीको जन्म भएको थियो ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा उहाँ लगायतका परिवार पाल्नका लागि उहाँका आमा बुवाले खोलामा माछा मारेर बेच्ने,मादल र सुल्पा बनाएर बेच्ने, अरुका खेतबारीमा ज्याला मजदुरी गर्ने जस्ता थुप्रै संघर्षपुर्ण कामहरु गर्नुप¥यो । वाल्यकालमा स्कुलमा बेन्च छोएको आरोपमा कथित उपल्लो जातीका कहलिने एक शिक्षकको निर्घात कुटाइको पीडा समेत भोगेका पुष्पले एकातिर गरीब र अर्कोतिर बादीको सन्तान भएकै कारणले सामाजिक, सांस्कृतिक र जातीय विभेद अन्तर्गतका थुप्रै अन्याय अत्याचारहरुको सामना गर्नुप¥यो ।

जसले गर्दा उहाँमा सानैदेखिन जातीय र समग्र वर्गीय मुक्तिका निम्ति सशक्त संघर्ष गर्नुपर्छ, भन्ने खालको विद्रोही स्वभावको विकास भइसकेको थियो । ठूलो परीवार र कमजोर आर्थिक अवस्थाका कारणले पढ्नको लागि अनुकूल वातावरण नपाएका उहाँले कक्षा ५ सम्मको शिक्षा गाउँकै सरकारी बिद्यालय श्री प्रावि मनकोट कालीमाटीबाट र उच्च माध्यमिक तहसम्मको शिक्षा श्री शीतल माध्यमिक विद्यालय चौरजहारी रुकुम पश्चिमबाट हाशील गर्नुभएको थियो ।

स्कुल लागेको समयमा हरेक दिन बिहान बेलुका मेलापात,गोठाला,अरुको ज्याला मजदुरी गरेर परिवारलाई सघाउने जस्ता कार्यहरु गर्दै उहाँको बाल्यकाल बितेको थियो । आफु जन्मे हुर्केको समाजमा रहेका कथित उपल्लो जातका मानिस र साहु महाजनहरुले आफू जस्ता गरीब दलितहरुमाथि गरेको अन्याय अत्याचार र शोषण दमनलाई बचपनदेखि नै नजिकबाट देखेका र भोगेका पुष्प सर्वप्रथम महेश्वर गहतराज (हाल नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री) र दलजित श्रीपाइली (नेपाल सरकारका पुर्व खेलकुद मन्त्री)को माक्र्सवादी स्कुलिङबाट प्रभावित भएर मिति २०५० सालदेखि अखिल क्रान्तिकारीको सदस्यता प्राप्त गरेर संगठित रुपमा शसक्त भूमिका तथा तत्कालीन नेपाल उत्पीडित जातीय मुक्ति समाजको श्री शीतल मावि चौरजहारी रुकुमको मुल इकाइ समितिको अध्यक्षको जिम्मेवारी बहन गर्दै जीवनको कठोर र दीर्घकालीन राजनीतिक यात्रा सुरु गर्नुभयो ।

निङकुश राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्दै सिंगो नेपाल राष्टको सामाजिक,साँस्कृतिक,राजनीतिक, आर्थिक लगायतका तमाम क्षेत्रहरुमा आमूल परिवर्तन गर्ने लक्ष्यका साथ २०५२ फागुन १ बाट तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित महान जनयुद्धमा उहाँ वि.सं. २०५७ सालदेखि भूमिगत भइ पुर्णकालीन रुपमा सहभागी हुनुभयो ।

सशस्त्र जनयुद्धमा तत्कालीन नेकपा माओवादी पार्टी र यसका विभिन्न विभाग र संगठनहरुमा महत्वपूर्ण जिम्मामा रही उहाँले त्यस युद्धमा निरन्तर रुपमा उच्च सक्रियताका साथ पार्टीले प्रदान गरेको प्रचारक,संगठक,सैन्य लगायतका सबै प्रकारका भुमिकाहरु प्रभावकारी रुपमा सम्पादन गर्नुभएको थियो । नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालय सदस्य र कर्णाली प्रदेशको इन्चाजको भुमिका समेत उहाँले कुशलतापुर्वक पुरा गरिसक्नुभएको छ ।

शान्ति प्रक्रिया पश्चात मिति २०६४ चैत्र २८ मा भएको पहिलो संविधान सभाको निर्बाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार भएर पहिलो पटक उहाँले चुनावी प्रक्र्रियाको अभ्यास गर्नुभएको थियो । यद्यपि उहाँ त्यसबेला संविधान सभा सदस्यमा पार्टीबाट छनौटमा पर्न सफल हुनु भएन । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत २०६८ सालमा वादी समुदाय उत्थान विकास समितिको केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा रहर वादी समुदायको हकहित र विकास एवं उत्थानमा समेत विशष कार्य अनुभव प्राप्त गरिसक्नुभएका निडर,कर्तव्यनिष्ठ,कम्युनिष्ट मूल्य र मान्यताप्रति वैचारिक एवं व्यवहारगत रुपमा निष्ठावान स्पष्ट वक्ता कमरेड पुष्प हाल नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

यही मिति २०७९ वशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवार प्रेम बहादुर ओलीलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका तर्फबाट चौरजहारी नगरपालिकाको दोस्रो नगर प्रमुख पदमा निर्वाचित हुनुभयो । भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको चुनावमा जातीय रुपमा क्षेत्री बाहनको बाहल्यता रहेको चौरजहारीमा नेपाल कम्युनिष्ट माओवादी केन्द्र रुकुम पश्चिमले उहाँलाई चौरजहारी नगर प्रमुख पदका लागि उम्मदवार सिफारिस ग¥यो ।


एउटा गरीब र युगौं युगदेखिन उत्पीडनमा पारिएको सीमान्तकृत बादी समुदायबाट देशमै पहिलो पटक नगर प्रमुख पदमा उहाँ निर्वाचित हुनुले दलित मुक्ति आन्दोलनमा एउटा चम्किलो दियो चौरजहारीबाट प्रज्ववलित भएको छ । उहाँको विजय एउटा निर्वाचनमा हुने सामान्य विजय मात्रै नभइ सामाजिक सांस्कृतिक रुपान्तरणको दृष्टिकोणबाट हेर्दा एउटा ऐतिहासिक छलाङ र क्रान्ति दुबै मान्न सकिन्छ । उहाँको विजयसँगै नेपाली समाजमा बिद्यमान जातीय छुवाछुत र बिभेद बिरुद्धको आन्दोलनमा चौरजहारीले एउटा कोसेढुङ्गा थप्न सफल भएको छ ।

साथै एउटा गरीब दलितको छोराछोरी समेत उपयुक्त अवसर पाएमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत पनि सरकारको कार्यकारी पदमा पुग्न सक्छ, भन्ने उदाहरण आज चौरजहारीबाट उहाले प्रस्तुत गर्नुभएको छ । यसले देशव्यापी रुपमा उत्पीडित जातजाती र गरीब समुदायमा एउटा आशाको किरण छाएको छ, भने कथित ब्राह्मणबादी सोच,प्रवृति, चिन्तन र व्यवहारमाथि सशक्त खबरदारी खडा भएको छ।

पुष्प बादीको यो सफलताले आज महान जनयुद्ध र जनआन्दोलन लगायत अन्य कैयन वर्गीय मुक्ति आन्दोलनको सफलता र औचित्य दुवै पुष्टि गर्न सफल भएको छ । हिजो यहि समाजले छि! छि! र दुर्दुर गर्ने एउटा दलितभित्रको पनि दलितको छोरो आज यही समाजलाई निकास र विकास दिने प्रमुख कार्यकारी पदमा बहाल हुँदा पक्कै पनि हाम्रो परम्परागत गलत र घृणित सोच, चिन्तन र व्यवहारमा सकारात्मक परिवर्तन निश्चय नै आएको हुनुपर्छ।

एउटा बलियो कार्यकारी स्थानीय सरकार प्रमुखको हैसियतमा आइसकेपछि उहाँमाथि दलित समुदाय मात्र होइन समग्र नगरको आर्थिक समृद्धि र सामाजिक तथा साँस्कृतिक रुपाञ्तरणको महाअभियानको अगुवाइ गर्ने र चौरजहारीलाई समाजवादको उत्कृष्ट नमूनाको रुपमा विकास गर्ने अवसर र चुनौति उहाँको काँधमा आएको छ ।

प्रथम नगर सरकारको उपलब्धिहरुको स्वामित्व बहन र संस्थागत गर्दै त्यसको बलियो जगमा टेकेर नगरवासीका तमाम समस्या एवं आवश्यकताहरुलाई केलाउँदै नयाँ उचाइबाट नगरको समग्र विकास प्रक्रियालाई अझै तीव्रताका साथ अघि बढाउने दायित्व एवं कार्यभार पनि उहाँकै शीरमा आइपुगेको छ ।

नगरभित्रका बिभिन्न राजनीतिक दलहरु ,पुर्व नगर प्रमुख,प्रदेश र प्रतिनिधिसभाका सदस्यहरु लगायत अन्य जनप्रतिनिधिहरु,बुद्धिजिवी,कर्मचारी तथा प्रदेश र संघ सरकारसँगको गतिशील समन्वय र सहकार्यमा व्यवस्थित र दिगो नीति योजना बनाई प्रभाकारी क्रिर्यान्वयनमा जान सक्नुभयो, भने उहाँको कार्यकाल ऐतिहासिक,उत्कृष्ट र पुर्णतया सार्थक हनेमा कनैु सन्दहे छैन ।

लेखक -शेर बहादुर के सी (विज्ञान शिक्षक शीतल मावि चौरजहारी २ रुकुम पश्चिम)