प्रत्येकबाट ८ हजार उठाउँदै ठग्दै : बीमा र पानी खुवाउने बाहाना

दीपक बोहरा
दाङ, ०३ असोज ।
‘अल्कालाईन’ पानी खुवाउने नाममा तुलसीपुरमा करिब २ बर्ष अघि दुईवटा संस्था साझेदारीमा आए । प्रत्येक टोलमा समूह बनाउने र त्यो समूहलाई पानी वितरण गर्ने ति संस्थाले उद्देश्य बताउथे । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको डिजिटल टेक्नोलोजी रेजुलेशन र परिबर्तन सप्लायर्सले सहकार्य गरेर तुलसीपुर ७ स्थित झमरे र आसपासका गाउँका ब्यक्तीहरुको समूह बनाए ।

समूहका प्रत्येक ६० जनाले ८/८ हजारका दरले पहिलो किस्ता बुझाए । उनीहरुलाई १५ बर्षपछि एकलाख २० हजारको बीमा पनि बनाईदिने र नियमित पानी खुवाउने पनि आस्वासन दिइएको थियो । पहिलो किस्ता तिरेपछि लक्ष्मी इन्सोरेन्सको बीमाको पोलिसी पनि आउने र दैनिक ५ लिटर पानी खुवाउने आस्वासन थियो, भने पहिलो ८ हजार रुपैँया तिरेपछि बाँकी १४ किस्ता ति संस्थाले नै तिरिदिने बताएका थिए ।

तर, ६० जनाबाट ८ हजारका दरले पैसा लिएको भएपनि अहिलेसम्म ३८ जनाको मात्रै बीमा पोलिसी बनेको छ । त्यो भन्दा अरुको केही पोलिसी पनि नबनाएको पीडित विनिता कुँवरले बताईन् । उनका अनुसार २/३ महिना पानी खुवाएको भएपनि त्यसपछि पानी पनि खुवाउन छोडेपछि सबैले पैसा फिर्ता मागेको उनले बताईन् ।

‘बीमा पोलिसी पनि ३८ जनाको मात्रै भयो, पानी पनि २/३ महिना खुवाएपछि अहिले खुवाउन छोड्यो, पहिलो किस्ता भनेर ८ हजार पनि लगिसक्यो, तर ३८ जनाको मात्रै पोलिसी बनेको छ’,उनले भनिन्‘त्यही भएर हामीहरुले पानी पनि चाहिएन, बीमा पनि चाहिएन्, पैसा फिर्ता चाहियो भनेर दवाव दिइरहेका छौं ।’

‘अल्कालाइन’ पानी छान्नकालागि झुमरेमा मेसिन पनि ल्याईएको छ । त्यो मेसिन केहीले समय काम ग¥यो । त्यसलाई पटक–पटक मर्मत गर्छौं भन्ने आस्वासन पनि दिए । तर, लामो समय मर्मत नभएपछि अहिले थन्काएर राख्नु पर्ने अबस्था रहेको अर्का पीडित भावना केसीले बताइन् ।

‘मेरो बुहारीका नाममा पैसा लिएका हुन्, हाम्रो पसल पनि छ,त्यही भएर धेरै पानी उत्पादन भएपछि पानी लिएर बेच्ने पनि भनेका थिए’,उनले भनिन्‘तर, अहिलेसम्म केही दिएनन्, अब हामीलाई केही चाहिएन, पैसा फिर्ता दिए हुन्छ ।’ त्यो मेसिनलाई १५ बर्षपछि समुदायमै दिने पनि आस्वासन दिएका थिए । जापानिज टेक्नोलोजीबाट निर्माण भएको त्यो मेसिनलाई त्यतिबेला साढे ५ लाख रुपैँया लगानी गरेर ल्याईएको स्थानीय गेमलाल न्यौपानेले बताए ।

‘त्यतिबेला ५ लाख रुपैँया लगानी गरेर ल्याईएको हो’,उनले भने‘२/३ महिना त पानी पनि खुवायो, त्यसपछि अहिले यो मेसिनको फिल्टर विग्रिएको भन्दै काठमाडौंबाट मगाउँदा ढिला भएको भने, पछि गएर जापानबाट ल्याउनु पर्छ, भनेको ७ महिना भन्दा बढि भयो, अहिलेसम्म पनि आएको छैन ।’


सामाजिक परिचालकले तलब पनि पाएनन्
यो कार्यकालागि उनीहरुले केही कर्मचारी पनि राखेका थिए । सामाजिक परिचालकको रुपमा झुमरेकी विनिता कुँवुर कार्यरत थिइन् । उनले नै ६० जनाको समूह बनाईन् । तर, त्यो वापत पाउने तलब र अन्य सुविधा नपाएको गुनासो गर्छिन् । ‘सामाजिक परिचालकको १५ लाखको बीमा गरिदिने, मासिक १५ हजार तलब दिने कुरा थियो’,उनले भनिन्‘तर, उल्टै काम गर्दा मेरो पैसा खर्च भएको छ, मैलै एक रुपैँया तलब पनि पाएकी छैन ।’ फिल्डमा जाँदा लागेको खर्च पनि नपाएको उनको गुनासो छ ।

घर–घरमा पानी वितरण गर्नकालागि सोही ठाउँका कमल पुनको अटो रिक्सा पनि प्रयोग गरिएको थियो । तर,अहिलेसम्म अटो भाडा समेत नपाएको उनले गुनासो गरे । ‘मेरै अटो प्रयोग गरेर पानी ओसार पसार गरिएको हो’,उनले भने‘ तर, अहिलेसम्म त्यस वापतको पैसा पनि पाइन ।’

तुलसीपुरमा मात्रै होईन्, शान्तिनगरमा पनि त्यस्तै समस्या छ । शान्तिनगरमा टिकाराम बुढाथोकीले समूह बनए । समूह बनाएर किस्ता वापतको ८ हजार रुपैँया पनि लिएर संस्थालाई बुझाउनु भयो । तर, केहीको पोलिसी आएको छ, कसैको छैन ।

प्रदेश प्रमुख निराजन विकले यो विषयमा आफूले केन्द्रीय कार्यालयमा जानकारी गराएको बताए । उनका अनुसार आफू पनि कर्मचारी भएको र पैसा फिर्ताकालागि पहल भइरहेको बताए ।

के हो छारीय पानी(अल्कालाईन वाटर) ?
क्षारीय पानीले शरीरको पीएच स्तर नियन्त्रण गर्न र क्यान्सरजस्ता दीर्घकालीन रोगहरू रोक्न मद्दत गर्दछ । क्षारीय पानीको पिएच उच्च हुन्छ । पीएच स्तर एक मापन एकाई हो जसले पानीमा अम्लीय गुन र क्षारीय गुनको स्तर ० देखि १–१४ को जानकारी दिन्छ ।

क्षारीय (अल्कालाईन युक्त) पानीमा नियमित पिउने पानीमा भन्दा बढी मात्रामा पीएच स्तर हुन्छ । अल्कालाईन पानीमा पिएच ८/९ हुन्छ भने सामान्य पानीमा ४/७ पिएच हुन्छ जुन ठाँउ अनुसार फरक हुन्छ । क्षारीय पानीले शरीरमा भएको अनावस्यक हानिकारक एसिडलाई बिस्तारै नस्ट गर्दछ । शरीरमा एसिड नस्ट गर्ने यो प्रक्रियाले बिभिन्न रोगहरू रोकथाममा मद्दत गर्दछ । साभार : अग्रिम साप्ताहिक