दाङमा चोरी गर्ने गिरोह आएको भनि भ्रम फैलाईयोः प्रहरी

तुलसीपुर
२७ भदौ / दाङमा बच्चा चोरी गर्न गिरोह आएको भन्ने कुरा हल्ला मात्रै भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले अहिले जिल्लामा चोरी गर्ने गिरोह आएको र केही ठाउँबाट पक्राउ गरिएको भनि आएको हल्ला गलत भएको बताए । जिल्लाका केही विद्यालयहरुले सूचना नै जारी गरि चोरी गर्ने गिरोह आएकाले सचेत हुन भनि विज्ञप्ति नै जारी गरेका छन् ।


यस्ता हल्लाको पछि लागेर भ्रममा नपर्न समेत डीएसपी गौतमले सबैलाई अनुरोध गरे । अहिलेसम्म जिल्लामा चोरी गर्ने गिरोहका रुपमा कसैलाई पनि पक्राउ समेत नगरेको उनले बताए । तर, आफ्ना बच्चाहरुको ख्याल भने गर्नुपर्ने उनले बताए ।‘बच्चाहरुको ख्याल गर्नुहोला,तर, अहिले जिल्लामा बच्चा चोरी गर्ने गिरोह आएको भन्ने कुरा छ, त्यो भने गलत हो’,उनले भने‘हल्लाका पछि लागेर भ्रममा नपर्नुहोला ।’