सिमेन्ट उद्योग प्रभावित नागरिकद्धारा आइपिओमा समावेश गर्न माग

तुलसीपुर, ११ भदौ ।
तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको सोनापुर सिमेन्ट उद्योगबाट प्रभावित क्षेत्रका नागरिकहरुले आइपिओमा समावेश गर्न माग गरेका छन् । उद्योग सञ्चालनमा रहेको वडा नम्बर १८का नागरिकहरुका लागि मात्रै आइपिओमा समावेश गर्न थालेको भन्दै प्रभावित वडा नम्बर १७ र १९का नागरिकहरुले समेत अतिप्रभावित क्षेत्रमा समावेश गर्नका लागि माग गरेका हुन् ।

नेपाल पूजी बजार लगानी कर्ता संघ बिजौरी शाखाको नेतृत्वमा जनप्रतिनिधि सहितको टोलीले सिमेन्ट उद्योगका वरिष्ठ नायब प्रबन्धक गणेश दत्त भट्टलाई मागपत्र हस्तान्तरण गरिएको हो । नगरप्रमुख टीकाराम खड्काले कुनै पनि उद्योगले आफ्नो पूजीलाई जनतामाझ पु¥याए मात्रै जनतामा अपनत्वको भावना विकास हुने भएको अधिकतम शेयर प्रभावित क्षेत्रका जनतालाई वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योगले एकल बजारको अन्त्य गर्दै अतिप्रभावित क्षेत्रका नागरिकहरुलाई अधिकत १५ प्रतिशत नै शेयर वितरण गर्न आग्रह गर्नुभयो ।


उद्योगका वरिष्ठ नायब प्रबन्धक गणेशदत्त भट्टले उद्योगले नियमानुसार जतिसक्दो बढी नै प्रभावित क्षेत्रमा शेयर वितरण गर्ने बताउनुभयो । उद्योगले रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाबाट कच्चा पदार्थ उत्खनन गर्दै आएको छ भने उत्खनन गरिएको क्षेत्रबाट खानेपानी,वन वातातावरण,सडक क्षेत्रमा प्रभाव पर्दै आएको छ । कार्यक्रममा नेपाल पूजी बजार लगानी कर्ता बिजौरीका अध्यक्ष केदार रजौरेले उद्योगले प्रभावित क्षेत्रका लागि निर्धारण गरिएको अधिकतम १५ प्रतिशत नै छुट्याउनुपर्ने बताउनुभयो ।