किताबी ज्ञानबाट व्यवहारिकतातर्फको यात्राः लिटिल हेभनमा नयाँ पाइला

तुलसीपुर, ३० साउन ।
तुलसीपुरको व्यस्त बजारको एउटा कुनामा रहेको लिटिल हेभन इग्लिस मिडियम माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शैक्षिक सत्रको सुरुवातसँगै कक्षा ११ मा पाइला टेकेका नयाँ अनुहारहरूले विद्यालयको वातावरणलाई थप जीवन्त बनाएका छन् । ब्यबस्थापन र शिक्षा शंकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न आयोजित भव्य समारोह केवल एक औपचारिक कार्यक्रम मात्र थिएन, शिक्षाको बदलिँदो परिभाषा र भविष्यको बाटो तय गर्ने एउटा विमर्श पनि थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर–९ का अध्यक्ष घनश्याम ढकालले एउटा गम्भीर विषयमा सबैको ध्यानाकर्षण गराए । उनका अनुसार, नेपालको शैक्षिक गुणस्तर सुधारमा निजी विद्यालयहरूले जुन जग बसालेका छन्, त्यो अतुलनीय छ। तर, बिडम्बना के छ भने, राज्यको नजरमा अझै पनि निजी क्षेत्रले पाउनुपर्ने जति सकारात्मक सम्मान पाउन सकेको छैन । निजी क्षेत्रले शिक्षामा गरेको लगानी र मिहिनेतलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने धारणा उनको थियो ।

आजको युगमा केवल अंक र ग्रेडले मात्र विद्यार्थीको भविष्य सुनिश्चित गर्दैन। यही यथार्थलाई प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले मन्तव्यका क्रममा जोड दिए । अबको विद्यालय किताबी ज्ञानमा मात्र अल्झिन नहुँने उनको भनाई थियो । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनु आजको आवश्यकता रहेको उनले बताए ।
लिटिल हेभन जस्ता विद्यालयहरूले पछिल्लो समय प्रयोगात्मक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिन थालेकोमा उनले सन्तोष व्यक्त गरे ।


स्वागत कार्यक्रममा भाषण र मन्तव्य मात्र थिएनन्, त्यहाँ भर्खरै माध्यमिक तह पार गरेर आएका युवाहरूको जोस र जाँगर पनि प्रष्ट देखिन्थ्यो। विद्यार्थीहरूले आफ्नो आन्तरिक प्रतिभालाई मञ्चमा उतार्दै विभिन्न सांस्कृतिक र कलात्मक प्रस्तुतिहरू दिएका थिए । ती प्रस्तुतिहरूले के संकेत गर्थे भने, यी विद्यार्थीहरू केवल डाक्टर वा इन्जिनियर बन्न मात्र होइन, समाजका हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने बहुआयामिक प्रतिभा बोकेर आएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यककान्त भण्डारीको अध्यक्षता र प्रधानाध्यापक कमल सापकोटाको स्वागतबाट सुरु भएको कार्यक्रममा शिक्षकहरू झरेन्द्र खरेल, होमराज डाँगी, निमबहादुर केसी र मुकेश अधिकारीले विद्यार्थीहरूलाई सफलताको मार्गदर्शन गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक जगदिश थापाले गरेका थिए