दाङमा ४७ मिटर ब्याज पीडितको उजुरी

दाङ
९ भदौ / दाङमा दुई सातामा ४७ जना मिटर व्याज पीडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सरकारले मिटर व्याज पिडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि अहिलेसम्म ४७ जनाले उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको छ ।


मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पीडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना जारी गरेको हो । प्रशासनका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पीडितमा घोराहीका ३४ जना, राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३÷३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।

मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार पीडित महिला ९५ प्रतिशत रहेका छन् ।