
तुल बहादुर कवँर मगर
सिसहनियाँ, २१ कार्तिक ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा शनिबार सार्वजनिक यातायातका चालकहरुको सडकमै निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।
राप्ती गाउँपालिका,इलाका प्रहरी कार्यालय सिसहनियाँ र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजनामा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो।
स्वास्थ्य शिविरमा १ सय ८० जना चालक तथा सहचालकको स्वास्थ्य जाँच गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो।
शिविरमा उच्च रक्तचाप,मधुमेह, बीएमआई तथा आँखाको दृष्टि परीक्षण गरिएको थियो। स्वास्थ्य जाँचका क्रममा केही चालक तथा सहचालकमा उच्च रक्तचापको समस्या देखिएको थियो।
स्वास्थ्य समस्या देखिएकाहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न, समय–समयमा स्वास्थ्य परीक्षण गराउन तथा मानसिक तनाव कम गर्दै सवारी सञ्चालन गर्न सुझाव दिइएको थियो।
शाखा प्रमुख राउतले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको प्राविधिक अवस्था र सडकको अवस्थासँगै चालकको स्वास्थ्य अवस्था पनि उत्तिकै महत्वपूर्ण हुने भएको हुदा स्वास्थ्य जाँच शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँले चालकको शारीरिक तथा मानसिक अवस्था प्रत्यक्ष रूपमा सवारी सञ्चालनसँग जोडिएकाले समयमै स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परामर्श तथा उपचार गर्न सके दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो।
लामो समयसम्म लगातार सवारी चलाउँदा हुने थकान, पर्याप्त आरामको अभाव, मानसिक तनाव तथा विभिन्न स्वास्थ्य समस्याले चालकको एकाग्रतामा असर पर्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्वास्थ्य परीक्षण सेवामा लालमटिया स्वास्थ्य चौकी भालुवाङका कार्यालय प्रमुख तथा स्वास्थ्य अधिकृत कृष्णप्रसाद श्रेष्ठ, अहेब शिवकुमार चौधरी र चेतन पोख्रेल, हेल्थ असिस्टेन्ट नारायण गौतम, ल्याब असिस्टेन्ट रमेश चौधरी, तिलगंगा सर्जिकल आँखा केन्द्रकी नेत्र सहायक मीना जीएम तथा नागार्जुन डेभलपमेन्ट कमिटीका टिकराम राउतले सेवा प्रदान गर्नुभएको थियो।
कार्यक्रममा राप्ती गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापति चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख जितबहादुर चौधरी, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख तीर्थराज भुसाललगायतको उपस्थिति रहेको थियो।



लाइभदाङ । २२ कार्तिक २०८३, शनिबार १७:५८ बजे