दाङमा तीन ठूला पार्टीको कति सदस्य ?

मनबहादुर बुढाथोकी
तुलसीपुर, २५ माघ ।
भर्खरै दाङका तीन ठूला राजनीतिक पार्टीले सदस्यता वितरण तथा नवीकरण कार्य गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सदस्यता टुंग्याएर सम्मेलन तथा अधिवेशनहरु गरिरहेका छन् । एमाले केही दिन अघि मात्रै राष्ट्रिय महाधिवेशन टुंग्याएको छ, भने काँग्रेको महाधिवेशन जारी छ ।

माओवादीको प्रदेश महाधिवेशन सकिएको छ, भने राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको छ । महाधिवेशन अघि सबै राजनीतिक दलले सदस्यता विस्तार तथा नविकरणलाई प्राथमिकता दिन्छन् । ठूलो भनिएको काँग्रेस, एमाले र माओवादी केन्द्रका सदस्य संख्या भने लगभग समान जस्तै छन् । नेपाली काँग्रेसका दाङमा १९ हजार पार्टी सदस्य रहेको नवनिर्वाचित जिल्ला सभापति शंकर डाँगीले बताए ।‘हाम्रा प्रत्येक वडामा न्यूनतम ५४ देखि अधिकतम ५४१ सम्म क्रियाशिल सदस्य छन्’, उनले भने ।

नेकपा एमालेले अहिले दाङमा १३ हजार पाँचसय ३४ जनाले नविकरण गरेको जनाएको छ । केही समय अघि मात्रै एमाले फुटेकाले नेकपा एकीकृत समाजवादी तिर पनि केही सदस्यहरु गएकाले कम भएको हुन सक्ने आँकलन गरिएको छ । तर, एमालेका पूर्व जिल्ला अध्यक्ष टिकाराम खड्काले नविकरण साढे १३ हजारको हाराहारामा मात्रै भएपनि खास सदस्य भने २२ हजार पाँचसय रहेको दावी गरे ।‘हाम्रा खास सदस्य २२ हजार पाँच सय हुन’, उनले भने‘तर, अहिले १३ हजार पाँचसय ३५ जनाको मात्रै नविकरण भएको छ ।’

दाङ क्षेत्र नं. १ मा तीनहजार ३ सय ३०, क्षेत्र नं. २ मा चारहजार ३ सय ५३ र क्षेत्र नं. ३ मा ५ हजार ८ सय ५१ सदस्यको नविकरण भएको उनको भनाई छ ।


त्यस्तै अर्को ठूलो दल मानिने माओवादी केन्द्रले पनि सदस्यता संख्या ह्वात्तै बढाएको छ । पार्टीको सदस्य संख्या १९ हजार ६ सय ७३ रहेको जिल्ला संयोजक सुवास पुनले जानकारी दिए । उनका अनुसार घोराहीमा ४ हजार एकसय ८५, तुलसीपुरमा तीन हजार सातसय ९०, गढवामा २ हजार दुईसय ८६, लमहीमा दुईहजार एकसय ३, राप्तीमा एकहजार सातसय ६३, बंगलाचुलीमा एक हजार चारसय ५६, राजपुरमा एक हजार तीनसय ३३, शान्तिनगरमा एक हजार एकसय ८९ जनालाई सदस्यता वितरण गरेको छ । त्यस्तै बबइमा ८ सय ७६, दंगीशरणमा ६ सय ९२ जनालाई सदस्यता प्रदान गरिएको छ । लुम्बिनी प्रदेश मध्ये माओवादी केन्द्रले सबै भन्दा धेरै दाङमै सदस्यता वितरण गर्न सफल भएको छ ।

सदस्यताको संख्याले आगामी निर्वाचनलाई पनि प्रभाब पार्ने आँकलन हुने गरेको छ । एक बर्ष भित्र मुलुकमा तीनै तहको निर्वाचन हुँदैछन् । त्यसैले राजनीतिक दलहरु सदस्यता संख्या बृद्धि गर्न जोडबल गरिरहेका छन् । साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text