बुटवलको होटलमा महिला र पुरुष मृत फेला

बटवल, ३१ साउन ।
बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।

धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।

युवती पलङमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । तन्ना र टावेलमा रगत पोतिएकाले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए ।


यद्यपि घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।