ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा लगाएको कर आजबाट लागू हुने

काठमाडौं , २० फाल्गुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने उत्पादनहरूमा कर लगाउने घोषणा मंगलबारदेखि लागू हुने बताएका छन्।

मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ। चीनमा थप १० प्रतिशत कर लगाइनेछ। ट्रम्पले देशहरूसँग सम्झौता भएको समय सकिएकोले कर लागू भएको जनाएका छन्।

‘मेक्सिको वा क्यानडाको लागि अब कुनै ठाउँ बाँकी छैन’, ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएको छ। मंगबारदेखि लागू हुनेछन्।’


चीनको विरोध
चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ र बढेको कर तत्काल फिर्ता लिन माग गरेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले घातक औषधि फेन्टानिलसँग सम्बन्धित आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाको रूपमा प्रयोग गरिरहेको जनाएको छ।

कर लगाउने समाचारपछि अमेरिकी शेयर बजारमा तीव्र गिरावट आएको छ। क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन् । मंगलबारदेखि उनीहरूका उत्पादनहरूमा अमेरिकामा पहिलेभन्दा बढी आयात शुल्क लगाइनेछ। बीबीसी