एउटा गौशाला : जहाँ बजेट खन्याईन्छ तर, गाई बाँच्दैनन्

दीपक बोहरा
दाङ २६ साउन ।
दाङको दंगीशरण गाउँपालिका वडा नं.६ चिसापानीमा २०७५ सालमा गौशाला सञ्चालनमा ल्याईयो । वडाको पहलमा उक्त गौशाला सञ्चालन ल्याएपनि त्यो गौशाला अहिले बजेट खन्याउने र पैसा कुम्ल्याउने माध्याम बनेको छ ।

                                 

अहिलेसम्म करिब ३५ लाख बजेट त्यहाँ खन्याईएको छ । तर, त्यहाँ गाईकालागि एउटा खुल्ला टहरा निर्माण गरिएको छ, भने एउटा हेरालु बस्ने घर र एउटा शौचालय भन्दा अरु संरचना बन्न सकेका छैनन् । लाखौं बजेट छुट्याएपनि गाईले उचित  संरक्षण पाउन सकेका छैनन । गएको बर्ष तीन सय गाई दाम्लोमै मरेका थिए ।

ति सबै गाई मरेपछि केही ठाउँबाट नयाँ गाई ल्याएर बजेट पचाउने काम भयो । त्यहाँ अहिले ३५ वटा गाई भएको तथ्यांक रहेपनि गौशालामा भने २९ वटा गाई मात्रै छन् । ‘उहाँ ३५ वटा गाई छन्, भनिन्छ’,स्थानीय तारा केसीले भने‘तर, गन्दा २९ वटा मात्रै गाइ छन्, बाँकी गाईहरु छाडा रुपमा छोडिएको हुन्छ ।’

गाई छाडा छोड्दा आसपासको बाली खाएर नष्ट पार्ने गरेको छ । त्यहाँ एक जना गाई हेरालु पनि राखिएको छ । तर, उनले पनि राम्रोसंग गाई नहेर्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

पटक–पटक बजेट आएको भएपनि त्यो बजेट कहाँ जान्छ, कुनै लेखाजोखा छैन । गाईको गोबर, गहुँत पनि बिक्री हुने गर्छ,त्यसको लेखाजोखा पनि केही छैन । प्रतिकेजी ५ रुपैँयाँका दरले गोबर विक्री हुने गरेको छ ।

आम्दानी खर्चको कुनै हिसाबकिताब नभएको गौशाला संरक्षण समितिका पूर्वध्यक्ष थमनबहादुर भण्डारीले बताए ।‘पटक–पटक धेरै बजेट आएको छ,यहाँ गोबर पनि निकै थियो, त्यो गोबर पनि कहाँ बिक्री भयो, भन्ने कुरा कुनै लेखाजोखा भएको छैन’,उनले भने‘ यसलाई कमाई खाने भाँडो बनाएएको छ ।’


गाई दिदा स्थानीयहरुले बर्षमा आफूहरुले त्यसकोलागि शूल्क दिने पनि प्रतिबद्धता जनाएका थिए । तर, उनीहरुले दिएका गाई २/३ महिना भन्दा बढि बाँचेनन् । त्यसपछि स्थानीय पनि उक्त गौशालाप्रति रुष्ट हुँदै आएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा प्रदेश, गाउँपालिका र वडाबाट गरि ३४ लाख ५५ हजार बजेट गएको देखिन्छ ।

त्यो बजेट सबै गाईको आहाराकालागि भनेर छुट्याईएको हो । तर, त्यो बजेट आहारामा खर्च नभएको भन्ने कुरा त्यहाँ राखिएका गाईबाट प्रष्ट हुने उनले बताए । यसरी सबै निकायबाट बजेट जाने तर, अब्यबस्थित भएपछि गाउँपालिकाले पनि चासो देखाएको छ । त्यो गौशाला केही ब्यक्तीहरुको कमाई खाने भाँडो भएपछि गाउँपालिकाले कार्यविधि बनाएर त्यही अनुसार काम गर्ने तयारी गरेको छ ।

‘हामीले त्यहाँको गौशाला ब्यबस्थापन गर्नकालागि कार्यविधि तयार गरेका त्यो,अब बस्ने कार्यपालिका बैठकले उक्त कार्यविधि पारीछ गर्छ’,गाउँपालिका अध्यक्ष शम्भु गिरीले भने‘त्यो कार्यविधि पारीत भएपछि त्यही अनुसार काम हुन्छ र अलि ब्यबस्थित हुनेछ ।’ उक्त कार्यविधि अनुसार गाउँपालिकाले त्यहाँको ब्यबस्थापन समिति मनोनित गर्ने छ ।

किनकी अहिलेसम्म त्यो गौशाला कुनै पनि बैधानिक निकायमा दर्ता छैन । वडाको पहलमा खुलेको भएपनि सम्बन्धित निकायमा दर्ता नभएर खुलेको भएपनि बजेट भने गइरहेको छ । अब यसलाई बैधानिक दिने कार्य अगाडी बढेको अध्यक्ष गिरीले बताए । अहिले त्यो गौशाला घाटामा चलिरहेको छ ।