यथार्थमा म नै दोषी(उपन्यास)

विशाल गुप्ता
‘ओ भया, साइद लगाओ तुम्हारा ठेला ‘एक नेपालीले आर्को नेपालीलाई चिढाउदै थियो ।मान्छेहरु मुखामुख गर्दै थिए।तैपनि मैले सुने नसुनेझै गर्दै अगाडि बढी रहे ।उ मलाइ बारम्बार भैया भन्दै पुकार्दौ थियो ।मलाई कताकता रिस उठ्दै थियो।रिसाउनु जायज पनि होइन क्यारे।रिस सम्हाल्दै म अगाडि बढ्दै थिए ।बारम्बार उहीँ शब्द मेरो काममा बज्दै जान थाले पछी मलाइ झनक्क रिस उठ्यो ।मैले केवल उसलाइ हेरे मात्र ।

‘सुन्रहा हे कि नहि ?’सहने सीमाले हद नाघेपछि मैले बाध्य भएर भने ‘ तपाई कसलाइ भैया भन्दै हुनुहुन्छ दाई ? म नेपाली नै हो ।नेपाली बोल्दा बोल्दै पनि तपाइँ मलाइ बाहिरको मान्छे जस्तो ठान्नुहुन्छ ? यदि ठेला समस्या हो भने अरुलाई पनि भन्नू न दाई ।मलाई मात्र किन त्यसो भन्नुहुन्छ ?’ सायद मेरो कुराले उसलाइ पचेनछ क्यारे ।उ आवेगमा आएर लाठी फन्नाउदै थियो।रिसले दाह्रा कड्कडाइ रहेको थियो।भन्दै थियो ‘ अझ मुखमुख लाग्छस, मैले भनेपछी त्यसै गर्नुपर्छ ।साला देशी नेपालमा आएर अझ ठूलो कुरा गर्छस् ?’ तथानाम गाली बक्दै थियो ऊ । मैले दुईहात जोर्दै भन्दैथिएँ ‘मलाई भैया नभन्नुस् हजुर, म पनि यही देशमा जन्मेको मान्छे हो ।’ उसले मेरो कुरा सुन्ने चासो गरेन । भन्न थाल्यो, ‘साला, नेपाली बन्ने प्रयास गर्छस् ? हामीलाई थाहा हुँदैन कोहो नेपाली भनेर ।’

वर्दी लाउँदैमा कोही पनि ठूलो हुँदैन । ठूलो वन्नलाई मन वचन र कर्मले पवित्र हुनुपर्छ। तर त्यो वर्दीधारी प्रहरी अझ आवेगमा बोल्दै थियो। मैले आफूलाई संयमित भएर भनें, ‘तपाई यो देशको सेवक हो भन्ने मलाई राम्ररी थाहा छ तैपनि सबैलाई एउटै डोरीभित्र बाँध्ने गर्नुहोस् न।’ ऊ रिसले खाउँला झै भन्न थाल्यो, ‘केरे केरे ? अझ जान्ने हुन्छस् ? वादविवाद चर्किदै थियो । मेरो वरिपरिका मान्छेहरूले दोष मेरै थियो कि भन्ने जस्तो गरी मलाई नै खाउखाउ झै हेर्दै थिए। मसंगै लगाएका ठेलावालहरू निर्धक्क भएर व्यापार गरिरहेका थिए। उनीहरूलाई कुनै वास्ता थिएन तर मेरो व्यापार भने चौपट्ट बन्दै गएको थियो ।

बारम्बार मलाई नै लक्षित गर्दै हकारी रहे पनि मैले आफ्नो व्यापार व्यवसायलाई निरन्तरता दिन थालें । उसले कुन्नि के सोच्यो । सायद नटेरेको महसुस गर्दै थियो होला । ऊ हतारिदै मेरो नजिक आएर मलाई नै धक्याउन थाल्यो। मलाई झनक्क रिस उठेर आयो। तैपनि, म के नै पो गर्न सक्थेर ?

‘किन यसो गर्नुहुन्छ दाई ? अरुले आफ्‌नो ठेला लगाएर व्यापार गरिरहेका छन् । मलाई मात्र किन भन्नुहुन्छ ?’ मेरो आवाजमा अलिकति आक्रोस पनि मिसिएको थियो। मैले दायाँ वायाँ हेरें । सबै जना ठेलावालहरु हाँसिखुसी व्यापार गरिरहेका देखिन्थे ।


चाडपर्वको समय भएकोले त्यसै पनि भिडभाड बढिरहेको थियो । उनीहरुलाई पैसा गन्न भ्याइ नभ्याइ थियो । मैले उनीहरूतिर हेर्दै आफ्नां नजर पुन: प्रहरीतिर लगाएँ। ऊ अझ आक्रोसमा आउँदै मलाई तथानाम गाली गर्दै थियो ।

‘अझ मुखमुख लाग्छस् ? मैले भनेपछि खुरुक्क साइड लगा । नत्र …’ एक किसिमको अचम्मको दम्भ थियो उभित्र । उसले लाठी घुमाउँदै थियो । मानौँ हर्ताकर्ता उही नै थियो क्यारे । मलाई खाउँला झै हेर्दै दारा किट्दै थियो । तैपनि मैले शान्त भएर आफूलाई सम्हाल्दै थिएँ। उसको अगाडि रिस देखाउन मलाई मन परेको थिएन ।

‘हैन मैले त्यस्तो के विराम गरेको छु र? कानुन सबैलाई एउटै हुँदैन र दाई ?’ सायद, मेरो जवाफले उसलाई साहै विभ्झेछ क्यारे ! ऊ रिसाउँदै मलाई झम्टिन आइपुग्यो । उसले मलाई दुश्मन सम्झिदै थियो । ऊ हतार हतारमा मेरो कठालो समाउन आयो। मेरो कठालो समाउँदै भन्न थाल्यो, ‘अझ कानुन सिकाउँछस् मलाई ?’ बिच बजार मा एकजना बर्दीधारी प्रहरी आक्रामक शैलीमा मेरो अगाडि आएर मलाई लछार पछार गर्न थाल्यो ।

हेर्दा हेर्दै मेरो ठेलामा राखिएका स्याउ, सुन्तला, केराहरू सडकभरी पोखिएर छताछुल्ल भए । म त्यो दृश्यले अवाक भएँ। मैले चाहेर पनि केही गर्न सकिन । मेरो ठेला जफत गरियो । सडक भरी छरिएका फलफूलले मलाई गिज्याइ रहेका थिए । वरिपरि मान्छेहरूको भिड लाग्दै थियो । सबैजनाले मेरो रमिता हेरिरहैं। मेरो छेउ नजिकै लगाइएका ठेलाका मालिकहरू मुसुमुसु हाँसिरहेका देखिन्थे । उनीहरू निर्धक्क भएर आफ्नो ब्यपार गरिरहेका थिए।ममाथी किन सौतेलो व्यबहार गरिएको होला? पुर्पुरोमा हात लगाउदै म आफै सोचमग्न हुन्थे।